नेपालगन्ज, साउन २८ गते । पश्चिम नेपालका विभिन्न जिल्लामा देखिएको एलपी ग्यासको अभाव टार्न नेपाल आयल निगमले भारतबाट ग्यासको आयात उल्लेख्य रूपमा बढाएको छ । बजारमा ग्यासको अभाव देखिएपछि निगमले साउनमा अघिल्लो महिनाको तुलनामा एक हजार ३४४ मेट्रिक टन बढी ग्यास आयात गरेको हो ।
नेपाल आयल निगम लिमिटेड नेपालगन्जका प्रमुख अजितकुमार पोखरेलका अनुसार असारमा तीन हजार ६३६ मेट्रिक टन ग्यास आयात भएकोमा साउनमा बढाएर चार हजार ९८० मेट्रिक टन पु¥याइएको छ । साउनमा आयात भएको ग्यास असारको तुलनामा करिब ९३ हजार ९८० सिलिन्डर बढी हो ।
असारको अन्तिम सातादेखि नै बजारमा ग्यास अभाव हुन थालेको गुनासो आएपछि साउनमा आयात बढाइएको पोखरेलले बताउनुभयो । उहाँका अनुसार भारतबाट नियमित रूपमा ग्यास आपूर्ति भइरहेकाले आयातमा कुनै समस्या छैन ।
“ग्यास अभाव हुने हल्लाका कारण उपभोक्ताले घरमा भएका सबै सिलिन्डर भराएर राख्न खोज्दा बजारमा केही समय अभाव देखिएको हो,” उहाँले भन्नुभयो, “आयातमा समस्या छैन, माग अनुसार ग्यास आइरहेको छ ।”
भारतबाट आयात बढाएपछि नेपालगन्ज र आसपासका क्षेत्रमा पछिल्लो समय ग्यासको अभाव कम हुँदै गएको निगमले जनाएको छ । पश्चिम नेपालका बाँके, बर्दिया, दाङसँगै कर्णालीका जिल्लामा समेत ग्यासको आपूर्ति सहज बनाउन निगमले आयात र वितरणमा ध्यान दिएको जनाएको छ ।
निगमका अनुसार साउनमा नेपालगन्जस्थित भेरी ग्यास उद्योगले दुई हजार ८३९ मेट्रिक टन, मनकामना ग्यास उद्योगले ९११ मेट्रिक टन, नेपाल कर्णाली ग्यास उद्योगले ३२९ मेट्रिक टन र दाङस्थित राप्ती ग्यास उद्योगले ८९९ मेट्रिक टन ग्यास आयात गरेका छन् ।
साउनमा नेपालगन्ज क्षेत्रमा मात्रै २७७ बुलेट अर्थात् तीन लाख ५१ हजार ७९० सिलिन्डर ग्यास आयात भएको निगमले जनाएको छ । निगमका नेपालगन्ज प्रमुख पोखरेलले पछिल्लो आयातको परिमाणले बजारको माग धान्न पर्याप्त हुने दाबी गर्नुभयो ।
नेपालगन्जस्थित भेरी ग्यास उद्योगमा ५४० मेट्रिक टनसम्म ग्यास भण्डारण गर्न सकिने क्षमता छ । उद्योगले दैनिक नौ हजार सिलिन्डरसम्म उत्पादन गर्ने क्षमता राख्छ । मनकामना र दाङको राप्ती ग्यास उद्योगमा दुई/दुई सय मेट्रिक टन ग्यास भण्डारण क्षमता रहेको निगमले जनाएको छ । यी दुवै उद्योगले दैनिक करिब दुई हजार पाँच सय सिलिन्डर उत्पादन गर्छन् । नेपाल कर्णाली ग्यास उद्योगको दैनिक उत्पादन क्षमता एक हजार दुई सय सिलिन्डर रहेको छ ।
यसैबिच बाँकेमा ग्यासको उपलब्धता र वितरण अवस्थाबारे जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई निरन्तरता दिएको जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सहायक प्रमुख जिल्ला अधिकारी महेश गुरुङको नेतृत्वमा नियमित बजार अनुगमन भइरहेको र जिल्लामा अहिले ग्यासको अभाव नरहेको बताउनुभयो ।
ग्यास व्यवसायीले भने उद्योगबाट माग अनुसार ग्यास नपाउँदा केही समस्या रहेको बताएका छन् । नेपालगन्जको कोरियनपुरकी ग्यास व्यवसायी गीता रेग्मीले यसअघि मासिक तीन हजार पाँच सय सिलिन्डर पाउँदै आएकोमा गत महिनादेखि दुई हजार चार सय सिलिन्डर मात्रै पाउन थालेको बताउनुभयो ।














