झापा, ३१ साउन ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यतिवेला पार्टी र मुलुकलाई आन्तरिक गुटबन्दी होइन, सुदृढ ‘पुनर्जागरण’को खाँचो रहेको बताएका छन्।

पार्टीको ‘मिसन जनजागरण अभियान’को झापामा उद्घाटन गर्दै अध्यक्ष ओलीले आन्तरिक खिचातानीका कारण विगतमा पार्टीले पटक–पटक विभाजनको पीडा भोग्नु परेको स्मरण गराउँदै गुटबन्दीमा लागेकाहरू पार्टी हितभन्दा फरक स्वार्थबाट प्रेरित हुने गरेको आरोप लगाए।

जेन जी (Gen Z) आन्दोलनका घटनाक्रमपछि पहिलो पटक काठमाडौँ उपत्यका बाहिर आयोजित सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुनर्गठनका नाममा भइरहेका गतिविधिप्रति कडा आपत्ति जनाए।

 जनहितमा जारी

पार्टीभित्र अध्यक्ष हटाउने अभियान चलाइएको प्रसङ्ग उल्लेख गर्दै उनले भने, "अहिले कसका लागि र किन अध्यक्ष फेर्ने कुरा भइरहेको छ? आम कार्यकर्ता पङ्क्तिबाट यस्तो माग आएको मैले सुनेको छैन।" पार्टीको नीति, गन्तव्य र साङ्गठनिक ढाँचामा तात्त्विक बदलाव ल्याउनु पुनर्गठन भए पनि अहिले एमालेलाई समय खेर फाल्ने पुनर्गठन नभई समग्र जागरण फैलाउने 'पुनर्जागरण' चाहिएको उनको तर्क थियो।

775127524_1048286778062308_6675325616072917255_n

पार्टीका तल्ला कमिटी तथा जनवर्गीय सङ्गठनहरूको साङ्गठनिक हेरफेर हुनु स्वाभाविक भए पनि केन्द्रीय नेतृत्व नै बदल्ने कुरा मध्यमार्गी वा सान्दर्भिक नहुने ओलीले स्पष्ट पारे।

विगतका राजनीतिक घटनाक्रमको समीक्षा गर्दै अध्यक्ष ओलीले अघिल्लो वर्ष भदौ २३ र २४ गते भएका आन्दोलनलाई हुल्लडबाजीका माध्यमबाट सत्ता कब्जा गर्ने कुत्सित प्रयासको संज्ञा दिए।

सो क्रममा भएका कमीकमजोरीप्रति जनता र पार्टी दुवैले पाठ सिक्नुपर्नेमा उनले जोड दिए। "जनताले गरेका गल्ती पनि सच्याउनुपर्छ र हामी स्वयं पनि सच्चिएर अगाडि बढ्नुपर्छ। त्यसका लागि हामी जनताको घरदैलोमा पुगेर वस्तुस्थिति बुझाउन जरुरी छ," ओलीले भने, "यतिवेला पार्टी एकता र एकजुटता नै हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ।"

देशमा भएका ध्वंसात्मक आन्दोलन र फागुन २१ गतेको निर्वाचनका सन्दर्भमा बोल्दै उनले प्रतिनिधिसभा पुनर्स्थापनाको एमालेको प्रस्तावलाई तत्कालीन समयमा अन्य दलहरूले अस्वीकार गर्दा मुलुक अझ ठूलो राजनीतिक भडखालोमा परेको दाबी गरे।


एमालेले अघि सारेको पुनर्स्थापनाको एजेन्डा समयमै स्वीकार नगरिएका कारण अहिले सबै राजनीतिक दलका नेतृत्व पछुताउनुपर्ने स्थिति बनेको उनको भनाइ थियो।

कार्यक्रममा एमालेका स्थानीय नेता-कार्यकर्ताको व्यापक उपस्थिति रहेको थियो।