पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज अदालत पेस गरेको छ । 

 प्रहरी अधिकारीका अनुसार आइतबार आज म्याद थप गरेर ल्याएपछि प्रहरीले अनुसन्धान थाल्ने जनाइएको छ ।

सभापति लामिछानेलाई चारवटा प्रतिवेदनलाई आधार बनाएर अनुसन्धान गर्न लागिएको प्रहरी श्रोतले जनाएको छ ।

नेकपा एमालेका नेता तथा सांसद सूर्य थापाको संयोजकत्वमा बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन समेतलाई आधार बनाएर प्रहरीले अनुसन्धान गर्ने तयारी गरीरहेको छ । सहकारी ठगीका विषयमा छानविनका लागि थापाका संयोजकत्वमा सात सदस्यीय संसदीय विशेष समिति बनेको थियो ।

उक्त समितिले ३० दिन लगाएर तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको थियो । रास्वपाका सभापति रवि लामिछाने र गोरखा मिडिया नेटवर्क, रविका व्यवसायीक साझेदार गितेन्द्र बाबु (जीवी)राईलाई समेत केन्द्रमा राखेर प्रतिवेदन बनेको छ । करिब ३० वटा सहकारीका विषयमा अध्ययन गरेको छ ।


जसमा ५ वटा सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ बचतकर्ताको पैसा गोरखा मिडिया नेटवर्कमा गएको देखिएको छ ।

त्यसमा रवि लामिछाने, जीवी राई, छविराज जोशी, कुमार रम्तेलको भूमिका रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सहकारीको बचत अपचलन समितिले सहकारीको पैसा अपचलन गर्ने गोरखा मिडिया नेटवकर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने लगायतमाथि कारबाहीको सिफारिस गरेको छ । शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिएको छ ।

लामिछानेविरुद्ध पोखरामा सूर्यदर्शन सहकारी ठगीमा पुरक किटानी जाहेरी परेको छ । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आक्रोशित देखिएको छ। एक मुखले राज्यको अनुसन्धान प्रक्रियालाई सघाउने वाचा गरिरहेका रास्वपाका नेता–कार्यकर्ता अर्को मुखले आक्रोशित वाणी बोलिरहेका छन्।