महोत्तरी । तिहार र छठका लागि जिल्लाको सीमापारि बजारमा सामान ल्याउन जाने नेपालीहरूले एक सय भारतीय रूपैयाँका लागि १६६ रूपैयाँ तिर्दै आएको पाइएको छ ।

नेपाली ग्राहकसँग भारतीय रुपैयाँ नरहेका कारण भारतीय बजारमा मालवस्तु खरिद गर्दा सयकडा ६ रुपैयाँ बट्टा (कमिशन) तिर्नुपरेको जलेश्वर नगरपालिका–२ का ग्राहक सुदीश साहले बताउनुभयाे ।

महोत्तरीसँग सीमा जोडिएको भारतीय बजार भिठ्ठामोड, सुरसण्ड, मधवापुर, साहरघाटका बजारमा अहिले नेपाली ग्राहक चाडबाडको किनमेल गर्न पुगिरहेका अवस्थामा भारतीय व्यापारीले मनपरी ढङ्गले नेपाली पैसामा बट्टा (कमिशन) लिएर मालवस्तु दिने गरेको जलेश्वर नगरपालिका–८ का ग्राहक राजु मण्डलले बताउनुभयाे । उहाँले भारतीय बजारमा नेपाली पैसालाई भारतीय पैसासँग साट्दा भारु एक सयको बदलामा नेपाली १६६ र बढीमा १६८ सम्म बट्टा लिने गरेको बताउनुभयाे ।

जलेश्वर–४ भिठ्ठामोडमा कपडा र खाद्यवस्तु किनमेल गर्न पुगेकी बन्दना पाण्डेसँग त्यहाँका व्यापारीले नेपाली एक हजारको सरदर भारु ६ सय मात्र दिएको र त्यतिमा कारोबार गरे गर्नुस्, होइन भन्ने सामान बेच्दैनौं भनेपछि त्यत्तिमै कारोबार गरेर आएको बताउनुभयाे ।