झापा, — झापाको भद्रपुर-९, पोकापाडास्थित श्री बालज्योती प्रतिष्ठान इङ्गलिस स्कुलले विभिन्न ९ विधामा ख्यातिप्राप्त देश तथा विदेशका स्रष्टालाई एक भव्य कार्यक्रमबीच सम्मान गरेको छ।

विद्यालयका संरक्षक तथा ख्यातिप्राप्त झापाली साहित्यकार सत्यनारायण तायलद्वारा लिखित र भद्रपुर नगरपालिकाको विविधता समेटिएको ‘नगर गीत’ को विमोचन अवसर पारेर सो सम्मान गरिएको हो।

विद्यालयका अध्यक्ष लवकुश गौतमको अध्यक्षता तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको स्वागत मन्तव्य विद्यालयकी सञ्चालक सदस्य तथा झापाली गायिका पवित्रा ओलीले राख्नुभएको थियो।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा साहित्यकार मुनाराज शेर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने साहित्यकार कृष्ण सुवेदी निराकारले गीतकार तायलको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा कोशी प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण पूर्वमन्त्री एवं उद्योगपति ओमप्रकाश सरावगी, सङ्गीतकार तथा बाध्यवादक हरि पौडेल, साहित्यकार एवं नाट्यकर्मी टंक विकल्प काफ्ले, गायक तथा सङ्गीतकार केशव पौडेल, साहित्यकारहरू विवश बलिभद्र कोइराला,लीला अनमोल, अभागी थेगुवा, खगेन्द्र खुशी र गायक नीरजबहादुर पोखरेलसहित ९ जना स्रष्टालाई सम्मान गरिएको छ। उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा अन्य विशिष्ट व्यक्तित्वहरूले सम्मानपत्र, मायाको चिनो र दोसल्ला ओढाएर सम्मानित गर्नुभएको थियो।

सम्मान कार्यक्रमपश्चात् आयोजित साङ्गीतिक तथा साहित्यिक सत्रमा सम्मानित स्रष्टाहरूले विभिन्न गीत, गजल र कविता प्रस्तुत गरेका थिए।

सोही अवसरमा खुशी सुवेदीको नृत्य, हरि पराजुलीको गजल तथा साहित्यकार देवीचरण भण्डारी र अनिता पौडेलको साङ्गीतिक प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो।

कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष बन्धु कार्की, वडा नं. ९ का वडाध्यक्ष राम दाहाल, वडा सदस्य मन्जु राउत, साहित्यकारहरू चिन्तामणि दाहाल, जयन्ती मणी, नवराज घिमिरे, मातृकाप्रसाद संग्रौला, गायक तथा सङ्गीतकारहरू गोविन्द रहपाल, डिके सुब्बा, कलाकारहरू सञ्जय शिवाकोटी, सञ्जय बागदास, उद्यमी तथा व्यवसायीहरू दीपेश ढकाल, अशोक धानुका लगायत सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो।

कृति राईले सहजीकरण तथा सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विमोचन गरिएको नगर गीतको भिडियो नवरत्न (NAWARATNA ENTERTAINMENT) नामक युट्युब च्यानलबाट समेत हेर्न सकिने आयोजकले जनाएको छ।