झापा, २९ कात्तिक । बोक्सी सम्बन्धी अन्धविश्वासविरुद्धको सामाजिक चलचित्र ‘अग्निदहन’ मंसिर ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
‘मान्छे बोक्सी हुन्न’ भन्ने सन्देश बोकेको यो चलचित्र मंसिर ७ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने भएको हो । चलचित्रको ‘प्रमोसन’का लागि पूर्व आएको चलचित्र युनिटले आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी चलचित्र प्रदर्शनबारे जानकारी दिएको छ ।
चलचित्रका निर्देशक घनश्याम लामिछानेले समाजमा रहेको बोक्सी सम्बन्धी अन्धविश्वास अन्त्य गर्ने उद्देश्यले चलचित्र निर्माण भएको बताउनुभयो ।
‘अग्निदहन’ २०७५ सालमै निर्माण भए पनि चलचित्रमा केही परिमार्जित गरेर ठूलो पर्दामा देखाउन लागिएको बताउनुभयो ।
“बोक्सीसम्बन्धी घटना भएका स्थानमा पाँच सय वटा निःशुल्क शो भइसकेको छ”, निर्देशक तिम्सिनाले भन्नुभयो, “घटना भएकै ठाउँमा आमनागरिकलाई सुसूचित गरेर बोक्सी भन्ने कुरा हुँदैन भन्ने जनचेतना जगाउने काम भइसकेको छ ।”
अग्निदहनमा एक रुपैयाँ पारिश्रमिक लिएर मुख्य भूमिका निर्वाह गर्नुभएकी कलाकार प्रमिला तुलाचनले बोक्सी जस्तो कुप्रथामा अन्त्य गर्न चलचित्रमा अभिनय गरेको बताउनुभयो ।
“म सामाजिक काम गर्न रुचाउँछु”, उहाँले भन्नुभयो, “त्यसैले पनि बिना पारिश्रमिक चलचित्रमा काम गरेको छु, चलचित्रमार्फत समाजलाई सही मार्ग डोहो¥याउने हाम्रो प्रयास हो ।”
चलचत्रि ‘अग्निदहन’ मोहनराज पौडेल मुख्य संरक्षक रहेको मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानको ब्यानमा बनेको हो ।
साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्निदहन’ ९० मिनेटको छ । चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बाँस्तोला, ताराबहादुर गुरुङको अभिनय छ ।
लोकमणि पौडेलको कथा, पटकथा र सम्वाद रहेको चलचित्रमा कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायाँकन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रङ संयोजन रहेको छ ।
चलचित्र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका उच्च तहका व्यक्तित्वहरुले हेरिसक्नुभएको छ भने चलचित्रलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।
चलचित्र पत्रकार संघ झापाको संयोजनमा भएको कार्यक्रमको सञ्चालन संघका अध्यक्ष रमेश तिवारीले गर्नुभएको थियो ।