झापा, १२ बैशाख ,चन्द्र बस्नेत । झापा गाउँपालिकाका १३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई आज ह्वील चियर वितरण गरिएको छ ।
रोटरी क्लब अफ डिल्ली बजार काठमाडौंको सहयोग तथा रोटरी क्लब अफ बिर्तामोडको समन्वयमा उनीहरुलाई ह्वील चियर वितरण गरिएको हो । ह्वील चियर वितरण कार्यक्रम झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाको अध्यक्षतामा भएको थियो ।
पालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई दिनुपर्ने सेवा धेरै भए पनि बजेट पर्याप्त नहुँदा दिन नसकिएको बताउनुभयो । रोटरी क्लबले गरेको सहयोगको उहाँले मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै आगामी दिनमा समेत सहयोग र सहकार्य गर्न आग्रह गर्नुभयो ।
“अपाङ्गता भएकाहरुको उत्थानका लागि पालिकाको तर्फबाट हामीले काम गरिरहेका छौं”, अध्यक्ष थपलियाले भन्नुभयो, “रोटरीले दिएको सहयोगले मलाई धेरै खुसी लागेको छ ।
” गुणस्तरीय ह्वील चियर भएकाले धेरै टिकाउ हुने बताउनुहुँदै उहाँले जबसम्म ह्वील चियर उहाँहरुले प्रयोग गर्नुहुन्छ, झापा गाउँपालिका र रोटरी क्लबलाई सम्झिनुहुन्छ, यस्तो परोपकार कामको जति प्रशंसा गरे पनि त्यो कम हुन्छ ।”
कार्यक्रममा औचित्य माथि प्रकाश पार्नुहुँदै रोटरी क्लब अफ डिल्ली बजार काठमाडौंका उपाध्यक्ष युवराज रोक्काले अपाङ्गता भएकाहरुले ह्वील चियर पाउँदा उनीहरुले महसुस गर्ने खुसी धेरै हुने बताउनुभयो । यसअघि अपाङ्गता भएर ओछ्यानमै रहेका एक व्यक्तिलाई ह्वील चियर दिँदा ती व्यक्तिले अत्याधिक खुसी भएको पाएको उहाँले अनुभव समेत सुनाउनुभयो ।
“ह्वील चियर पाएपछि उहाँहरुमा देखिएको खुसीले हामीलाई यसरी ह्वील चियर वितरण गर्नुपर्ने रहेछ भन्ने सोच आयो”, उहाँले भन्नुभयो, “यसले उहाँहरुको दैनिकमा कति सहज आउँछ भन्ने पनि थाहा पायौं ।” यो वर्ष करिब ३३० थान ह्वील चियर वितरण गर्ने र अर्को वर्ष एक हजार थान ह्वील चियर वितरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष राजकुमार यादवले रोटरी क्लबले ग्रामीण क्षेत्रका नागरिकलाई ह्वील चियर वितरण गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “रोटरी क्लबले अपाङ्गता भएकाहरुलाई यो सहयोग होइन, सम्मान हो ।” अपाङ्गता भएका व्यक्तिहरुलमा यस्ता सहयोगले आत्मबल बढ्ने उहाँको भनाइ छ ।
रोटरी क्लब अफ डिल्ली बजार काठमाडौं पूर्व अध्यक्ष प्रेमकुमार ओलीले जहाँ आवश्यकता त्यहाँ रोटरी पुग्ने गरेको बताउनुभयो । विभिन्न सामाजिक संघसंस्था र स्थानीय तहसँगको सहकार्यमा सामाजिक कार्य गर्दै आएको उहाँको भनाइ छ । “जसले सहकार्यमा उत्सुकता देखाउँछ हामी त्यो संस्थासँग सहकार्य गछौं”, उहाँले भन्नुभयो, “सोही अनुरुप आज हामी झापा गाउँपालिका आइपुगेका छौं ।”
कार्यक्रममा झापा गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख सञ्जु फागोले स्वागत मन्तव्य राख्नुहुँदै अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरणका लागि दाता खोजिरहेको अवस्थामा रोटरीबाट प्राप्त हुने जानकारी पाएपछि सहकार्य गरेको बताउनुभयो ।
कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोडका प्रोग्राम डाइरेक्टर सुरेश वंशलले झापा गाउँपालिकामा यसअघि प्रशासकिन सेवासहितको बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो । उहाँले एक हजार भन्दा बढीले शिविरबाट लाभ लिएको स्मरण गर्नुभयो ।
कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष सुरेश अग्रवाल, कार्यक्रम संयोजक सैलेन्द्र कुरुङ्वाङ, रोटरी क्लब अफ बिर्तामोडका प्रोग्राम डाइरेक्टर सुरेश वंशल, पालिका स्वास्थ्य शाखा प्रमुख प्रेम प्रसाद न्यौपाने, झापा वडा नं. ६ का अध्यक्ष नवीन किशोर थापा, करुणा फाउण्डेशन पालिका संयोजक कुवेरमणि निरौला, रोटरी क्लब अफ बिर्तामोडका प्रकाश शिवाकोटी, ओम बिमली, पार्वता बिमली रामराज गणेश लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन प्रशासन शाखाका अधिकृत स्तर आठौं युवराज कोइरालाले गर्नुभएको थियोे ।
कार्यक्रममा ह्वील चियर पाएपछि लाभग्राहीहरु खुसी भएका छन् ।














