झापा, बैशाख २५ – झापाको हुलाकी राजमार्ग अन्तर्गत पर्ने कन्काई नदीमा निर्माणाधीन पुल १४ वर्ष बितिसक्दा पनि अझै अधुरै रहेको छ। २०६८ सालमा ठेक्का दिइएको यस पुलको निर्माण कार्य तीन वर्षमा सम्पन्न गर्ने वाचा गरिएको थियो, तर २०८२ साल आइपुग्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन।
यस लामो अवधिमा देशमा १० वटा सरकार, ७ जना प्रधानमन्त्री र १३ जना भौतिक पूर्वाधार तथा यातायात मन्त्री परिवर्तन भइसकेका छन्। तर पनि कन्काई नदीको यो अत्यन्तै महत्वपूर्ण पुल अझै निर्माण सम्पन्न नहुनु राज्यको उदासिनताको उदाहरणका रूपमा हेरिएको छ।
झापाको दक्षिणी क्षेत्रका नागरिकहरूको दैनिक आवागमन, स्वास्थ्य सेवा, शिक्षा तथा व्यापार–व्यवसायमा प्रत्यक्ष असर पार्ने कन्काई पुल निर्माण कार्यमा देखिएको ढिलासुस्तीप्रति प्रतिनिधिसभा सदस्य माननीय एलपी साँवा लिम्बूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सांसद साँवा लिम्बूले संसदमा आवाज उठाउँदै कन्काई पुल निर्माण तत्काल अघि बढाउन र स्थानीय जनताको पीडा अन्त्य गर्न सरकारसँग जोडदार माग गरेका छन्।
“जनताको आधारभूत सुविधा र सुरक्षासँग जोडिएको संरचना लामो समयसम्म अधुरो राख्नु गम्भीर लापरबाही हो,” सांसद साँवाले भनेका छन्।
स्थानीय बासिन्दाहरूले पनि पटक–पटक आन्दोलन, ज्ञापनपत्र तथा मिडियामार्फत आवाज उठाउँदै आए पनि पुलको काम अलपत्र रहेको बताउँछन्। वर्षा याममा कन्काई नदीको वहाव बढ्दा यात्रु र सवारी साधनलाई जोखिम मोल्दै नदी पार गर्नुपर्ने बाध्यता अझै पनि कायमै छ।
अब जनताले यो प्रकरणमा प्रत्यक्ष समाधानको अपेक्षा गरिरहेका छन्, जसका लागि सांसद साँवाले अग्रसरता लिएको स्थानीयहरूले सराहना गरेका छन्।














