चितवन – चितवनमा गएको हप्ता आएको हुरीसहितको वर्षाले केराखेतीमा २० प्रतिशत क्षति भएको छ । जिल्लाका पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको केरामा क्षति भएको केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष घननाथ महतोले बताउनुभयो ।

उहाँका अनुसार गएको बुधवार र बिहीवार आएकाे हुरीसहितकाे वर्षाले पूर्वी चितवनको कालिका नगरपालिका, चैनपुर, वीरेन्द्रनगर र रत्ननगरकाे केराखेतीमा क्षति पुगेको छ । ती क्षेत्रमा १५ देखि २० प्रतिशतसम्म क्षति पुगेको उहाँको भनाइ छ ।

यस्तै शुक्रवार आएको हुरीका कारण भरतपुर महानगरपालिका वडा नम्बर २३ र २६ मा केराखेतीमा क्षति पुगेको छ । साथै भरतपुरको ठिमुरा क्षेत्रमा पनि क्षति पुगेको छ ।

केराखेती गर्दै आउनुभएका कालिका नगरपालिकाका माधव घिमिरेले उत्पादन लिने समयमा हुरीले केरामा क्षति पुर्‍याएको बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका सूचना अधिकारी रविकीरण अधिकारीका अनुसार हुरीले केराखेतीमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

चितवनमा अहिले मालभोग, चिनी चम्पा र जी–९ जातको केराखेती हुँदै आएको छ । तीन हजार बिघाभन्दा बढी क्षेत्रफलमा ७०० भन्दा बढी किसानले केराखेती गर्दै आएका छन् ।