भरत प्रसाई ।
झापाको माटोमा मेहनत गर्ने हो भने सुन फल्छ भन्ने कुरा भाषणमा होइन, खेतको डिलमा उभिएर प्रमाणित गरिरहेका छन् झापा गाउँपालिका–३ का कृषक चन्द्रप्रसाद बस्नेत। करिब १० कठ्ठा क्षेत्रफलमा लगाइएको पिङ्क प्रजातिको अम्बाको बोट अहिले लटरम्म फलले भरिएका छन्। बोटमा झुन्डिएका पाकेका अम्बाले किसानको सम्भावना देखाइरहेका छन्, तर खेतबाट बजारसम्म पुग्ने बाटो भने अझै उस्तै कठिन छ।
कृषिमा केही गर्नुपर्छ, आफ्नै माटोमा पसिना बगाएर आफ्नै उत्पादनबाट आत्मनिर्भर बन्नुपर्छ भन्ने उद्देश्य बोकेर बस्नेतले झापा गाउँपालिका–३ का केही स्थानीय कृषकसँग सहकार्य गर्दै करिब दुई लाख रुपैयाँको लगानीमा पिङ्क प्रजातिको अम्बा खेती सुरु गरे।
आज त्यही मेहनतको परिणाम उनको खेतमा देखिन्छ। अम्बाका बोटहरू फलले लटरम्म छन्। पाकेका अम्बा खरिद गर्न व्यापारीहरू खेतमै पुग्न थालेका छन्। उत्पादन राम्रो छ, गुणस्तर उत्कृष्ट छ र नेपाली माटोमा उत्पादन भएको अर्गानिक फलफूलप्रति उपभोक्ताको आकर्षण पनि बढ्दो छ।
तर किसानको पीडा यहीँबाट सुरु हुन्छ। उत्पादन गर्न किसान तयार छ, पसिना बगाउन तयार छ, जोखिम उठाउन तयार छ; तर उत्पादन बेच्ने बजार कसले बनाइदिने?
बस्नेतका अनुसार स्थानीय उत्पादनलाई व्यवस्थित रूपमा बजारीकरण गर्न सके कृषकले अझ ठूलो क्षेत्रफलमा खेती विस्तार गर्न सक्छन्। उनले बिर्तामोडको कृषि थोक बजारमा आफ्ना उत्पादन राख्न सटर वा उपयुक्त स्थानको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग आग्रह गरे पनि अपेक्षित चासो नदेखाइएको गुनासो गरेका छन्।
यदि बिर्तामोडको कृषि थोक बजारमा स्थानीय कृषकका लागि व्यवस्थित बिक्रीस्थलको व्यवस्था हुने हो भने झापा गाउँपालिका लगायत आसपासका क्षेत्रका किसानले उत्पादन गरेका अम्बा तथा अन्य फलफूल सिधै उपभोक्तासम्म पुग्न सक्ने उनको विश्वास छ। यसबाट बिचौलियाको प्रभाव घट्ने र उपभोक्ताले समेत सस्तो मूल्यमा ताजा तथा गुणस्तरीय नेपाली उत्पादन पाउने अवस्था बन्न सक्छ।
यो केवल चन्द्रप्रसाद बस्नेतको गुनासो होइन। यो त खेतमा पसिना बगाउने हजारौँ नेपाली किसानको साझा प्रश्न हो—‘हामी उत्पादन गरौँ, तर हाम्रो उत्पादन बेच्ने जिम्मा कसको?’
एकातिर राज्यले कृषि क्रान्ति, आत्मनिर्भरता र स्वदेशी उत्पादन प्रवर्द्धनका ठूलाठूला नारा लगाइरहेको छ। अर्कोतिर खेतमा उत्पादन भएको स्थानीय फलफूल र तरकारी बजारको अभावमा किसानले अनेकौँ समस्या झेल्नुपरेको छ।
किसानले ऋण खोज्छ, खेत तयार गर्छ, बिरुवा किन्छ, मलखादको व्यवस्थापन गर्छ, दिनरात मेहनत गर्छ। घाम, पानी, रोग, कीरा र प्राकृतिक जोखिमसँग लड्छ। महिनौँको प्रतीक्षा गर्छ। अन्ततः खेतमा फल पाक्छ।
तर फल पाकेपछि किसानको मुहारमा खुसी आउनुपर्ने बेला बजारको चिन्ताले निधारमा चाउरी थपिन्छ।
अझ विडम्बना त के छ भने बाहिरबाट सहजै भित्रिने फलफूल तथा तरकारीले बजारमा स्थान पाउने अवस्था रहँदा आफ्नै माटोमा उत्पादन भएको स्थानीय किसानको उत्पादनले भने उचित बजार र प्राथमिकता पाउन नसकेको कृषकहरूको गुनासो छ।
भारतबाट आउने फलफूल तथा तरकारीलाई बजारमा सहज पहुँच भइरहँदा झापाको आफ्नै खेतमा उत्पादित अम्बा उपभोक्तासम्म पुर्याउन किसानले बजार खोज्दै हिँड्नुपर्ने अवस्था अन्ततः कसका लागि विडम्बना हो?
देशको माटोमा उत्पादन गर्ने किसानलाई प्रोत्साहन नगरी कृषि आत्मनिर्भरता कसरी सम्भव हुन्छ?
बस्नेतको खेतमा फलेका अम्बा केवल फल होइनन्। ती सम्भावनाका प्रतीक हुन्। ती युवालाई विदेश होइन, आफ्नै खेततर्फ फर्काउने सन्देश हुन्। ती कृषि क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने उदाहरण हुन्। र सबैभन्दा ठूलो कुरा—नेपालमा केही गर्न खोज्ने किसानलाई राज्यले साथ दिने हो भने यही माटोले मुलुकको भविष्य बदल्न सक्छ भन्ने प्रमाण हुन्।
तर किसानलाई केवल ‘कृषि क्रान्तिका अभियन्ता’ भनेर सम्मान गरेर पुग्दैन। उसको उत्पादन किन्ने बजार चाहिन्छ, उचित मूल्य चाहिन्छ, भण्डारण चाहिन्छ, ढुवानीको सहज व्यवस्था चाहिन्छ र स्थानीय उत्पादनलाई प्राथमिकता दिने स्पष्ट नीति चाहिन्छ।
स्थानीय सरकारले कृषकलाई उत्पादनका लागि अनुदान वा प्राविधिक सहयोग मात्र होइन, उत्पादनपछि बजारसम्म पुर्याउने जिम्मेवारीसमेत लिनुपर्ने आवश्यकता देखिन्छ। किसानले उत्पादन गरिसकेपछि ‘अब बेच्ने त आफैँ जान्नु’ भन्ने शैलीको कृषि नीति अब बदलिनुपर्छ।
झापा गाउँपालिका–३ का चन्द्रप्रसाद बस्नेतको अम्बा खेतीले यही प्रश्न उठाएको छ—किसानले माटोमा सुन फलाइरहेको छ, तर राज्यले त्यो सुन बजारसम्म पुर्याउने बाटो कहिले बनाउने?
आज उनका बोटमा लटरम्म फलेका अम्बा हेर्दा लाग्छ—
नेपालको माटो बाँझो छैन, किसानको हात बाँझो छैन, सम्भावना बाँझो छैन। बाँझो छ भने केवल हाम्रो व्यवस्थापन र बजारप्रतिको दृष्टिकोण।
किसानलाई साँच्चिकै सम्मान गर्ने हो भने उसको उत्पादनलाई बजार देऊ।
स्थानीय उत्पादनलाई प्राथमिकता देऊ। कृषकको पसिनाको मूल्य देऊ। किनकि किसानको खेतमा फल पाकेर पनि बजारमा कुहियो भने त्यो केवल एउटा फलको क्षति होइन, राष्ट्रको सम्भावना कुहिनु हो।














