झापाको मेचीनगरमा नै पहिलो पटक सहकारीले आयोजना गरेको खुल्ला टिकटक वक्तृत्वकला प्रतियोगितामा मेचीनगर-१० का शिव सुवेदी प्रथम भएका छन् ।

पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था (साकोस) ले आफ्नो १९ औँ वार्षिकोत्सवको अवसरमा ‘आजको बचत नै भविष्यको सुरक्षा हो’ भन्ने नाराका साथ खुल्ला टिकटक वक्तृत्वकला प्रतियोगिता गरेको थियो ।

उक्त प्रतियोगितामा प्रथम सुवेदी, दोस्रो र तेस्रो मेचीनगर-१४ का अनुजा रायमाझी र नम्रता खड्का भएका थिए । विजेता उनीहरुलाई क्रमश: ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा शारदा शर्मा घिमिरे, मोहन काजी र ज्ञानेन्द्र निरौला रहेका थिए । निर्णायक मण्डलले प्राप्त गरेको भिडियोहरू मध्येबाट भ्युज, सेयर र लाइकको आधारमा ५० अंक र प्रतियोगीको प्रस्तुतिको आधारमा ५० अंक गरी कुल १०० प्राप्ताङ्कको आधारमा मूल्याङ्कन गरी नतिजा घोषणा गरेको थियो ।

 जनहितमा जारी

पूर्वीद्वार साकोसका अध्यक्ष वीपी भट्टराईको अध्यक्षतामा सम्पन्न विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा संस्थाका पूर्व अध्यक्ष चेतराज विष्ट (चेतन), निर्णायक समिति सदस्य शारदा शर्मा घिमिरे, संस्थाका लेखा समिति संयोजक गोपालबहादुर राउत, वाल सुबोधिनी माविका प्रधानाध्यापक विश्व थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उपाध्यक्ष मणि खतिवडाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक प्रल्हाद खड्काले गरेका थिए ।