बिर्तामोड नगरपालिकाले अन्र्तगत पशुपंक्षी तथा मत्स्य विकास शाखाले बिर्तामोड भित्र रहेका २ सय भन्दा बढी कुकुरलाई बन्ध्याकरण गरेको छ ।
दुई दिनसम्म सञ्चालन शिविरमा नगरपालिका क्षेत्रभित्रका सबै वडाबाट सामुदायिक कुकुरलाई बन्ध्याकरणसंगै रेबिज विरुद्वको भ्याक्सिन लगाइएको पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनुभयो । उहाँले आवश्यकता अनुसार अन्य औषधी उपचार गरेर छोडिएको बताउनुभयो ।
हाम्रो भेटेरिनरी सेवा सहकारी संस्थाको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।शविर उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा हरेक वर्ष शिविर सञ्चालन गर्दै आए पनि कुकुरको प्रकोप बढेकोले धेरै उजुरीहरु आउने गरेको बताउनुभयो ।
उहाँले सामुदायिक कुकुरले बाहिर बाँधेका बाख्राका पाठा, गाईलाइ टोक्ने, मानिसलाई नै आक्रमण गर्ने गरेको र उनीहरुबाट रेबिजसमेत सर्ने भएकोले समस्या समाधानका लागि शिविर प्रभावकारी रहेको धारणा राख्नु भएको थियो । पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख दाहालले छिमेकी पालिकाहरुले पनि हरेक वर्ष अनिवार्य रुपमा शिविर आयोजना गरेमात्रै सामुदायिक कुकुर नियन्त्रण गर्न सकिने बताउनुभयो । शिविरमा २ जना डाक्टरसहित १८ जनाको टिम परिचालन गरिएको थियो ।
शिविर उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, कार्यपालिका सदस्य सीता ढुङ्गाना, संगिता सिवा, वडा नम्बर ८ का वडा सदस्य अग्निप्रसाद सिटौला, नगरपालिकाका अधिकृत मेघराज बाँस्तोला, हाम्रो भेटेरिनरी सेवा सहकारी संस्थाका अध्यक्ष डाक्टर दिलिप सापकोटा लगायतको उपस्थिति रहेको थियो । शिविर पुस ८ गतेसम्म सञ्चालन भएको थियो । शिविर सम्पन्न गर्न यस वर्ष ५ लाख रुपैयाँ बजेट विनियोजन भएको शाखाकी अधिकृत दाहालले बताउनुभयो ।
उहाँका अनुसार एउटा कुकुरको बन्ध्याकरण खर्च दुई हजार ६ सय ५० रुपैयाँ हुने गरेको बताउनुभयो ।
शिविर समापन कार्यक्रममा प्राविधिक सहयोग उपलव्ध गराउने हाम्रो भेटेरिनरी सहकारी संस्था बिर्तामोड र संलग्न सर्जन डाक्टरहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रमकी अध्यक्ष कार्यपालिका सदस्य संगिता शिवाले सहकारी संस्थाका अध्यक्ष डाक्टर दिलिप सापकोटा, सर्जन डाक्टर सिजन सैंजु र निशा सञ्जेललाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
गत पुस ७ र ८ गते गरी दुई दिन आयोजित शिविरमा नगरका सबै वडाबाट कुकुर संकलन गरिएको थियो । नगरपालिकाले २०७५ सालदेखि हरेक वर्ष नीति तथा कार्यक्रम अनुसार नै सामुदायिक कुकुरको बन्ध्याकरण शिविरको आयोजना गर्दै आएको छ । कुकर समाजमा मानिस संग धुलमिल भएर बस्ने प्राणी भएकोले स्वास्थ्य रहनु पर्ने आवश्यकतालाई मध्यनजरगर्दै बिर्तामोड नगरपालिकाले बन्ध्याकरण शिविरको आयोजना गरेको जनाइएको छ । स्वास्थ्य नगरको परिकल्पनालाई साकार पार्न, रेविजबाट जनतालाई जोगाउन प्रत्येक वर्ष बन्ध्याकरण शिविरको आयोजना गरिएको बिर्तामोड नगरपालिकाकी नगर प्रमुख महतारा प्रसाईले बताउनु भयो ।