बिर्तामोड। झापा,  भरत भाबुक प्रसाई

१७ असार, — झापाको उत्तरी चुरे तथा वन क्षेत्रसँग जोडिएका बस्तीमा वर्षौँदेखि जारी मानव-हात्ती द्वन्द्वका बीच रैथाने किसानले सुरक्षित आर्थिक विकल्पका रूपमा 'सुपारी खेती'लाई मुख्य हतियार बनाएका छन् । परम्परागत धान, मकै र दलहन बाली हात्तीले सखाप पारेपछि बुद्धशान्ति, अर्जुनधारा र मेचीनगरका वन क्षेत्र लक्षित ६० प्रतिशतभन्दा बढी कृषि योग्य जमिन अहिले व्यावसायिक सुपारी बगानमा परिणत भएको छ ।

परम्परागत बालीको तुलनामा हात्तीले सुपारीलाई न्युनतम मात्र क्षति पुर्‍याउने भएपछि उत्तरी झापाका किसानहरूले यसलाई 'सुरक्षित नगदे विकल्प'का रूपमा अपनाएका हुन् ।पछिल्लो समय झापामा सुपारीको फल मात्र नभई बोटबाट खस्ने पात (खोस्टा) समेत मुख्य आम्दानीको स्रोत बनेको छ । जिल्लाका मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा सञ्चालित करिब आधा दर्जन उद्योगहरूले किसानको घरमै पुगेर प्रतिगोटा २ रुपैयाँसम्ममा खोस्टा खरिद गर्ने गरेका छन् ।

सुपारीको खोस्टाबाट निर्मित वातावरणमैत्री थाल, कचौरा, चम्चा र प्लेटहरू मुलुकका ठूला तारे होटलदेखि युरोपेली मुलुकहरूमा निर्यात हुन थालेपछि किसानको आर्थिकस्तर बहुआयामिक बनेको हो ।

झापामा हाल २ हजार ६ सय ३१ हेक्टरभन्दा बढी क्षेत्रफलमा सुपारी खेती भइरहेको छ, जसमध्ये नेपालको कुल उत्पादनको झण्डै ७५ प्रतिशत हिस्सा (करिब ११ हजार मेट्रिक टन) झापाले मात्र ओगटेको सरकारी तथ्यांक छ ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंका अनुसार यो खेतीले ग्रामीण अर्थतन्त्रमा अभूतपूर्व परिवर्तन ल्याएको छ । "हात्तीको नियमित करिडोर भएकाले अन्नबाली जोगाउन असम्भव जस्तै थियो, तर सुपारीले किसानलाई निराश बनाएको छैन," अध्यक्ष प्रसाईंले भने, "अहिले वैदेशिक रोजगारीबाट फर्केका युवाहरू खाडी छाडेर आफ्नै गाउँमा व्यावसायिक सुपारी नर्सरी र बगान स्थापनामा सक्रिय हुन थालेका छन्, जसलाई हामी 'रिभर्स माइग्रेसन' भनिरहेका छौँ ।"

बुद्धशान्ति–१ का वडाध्यक्ष अनिल वाग्लेका अनुसार गाउँपालिकाका वडा नं. १, ३, ४ र ५ का अधिकांश नागरिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सुपारीकै अर्थतन्त्रमा आश्रित छन् । यता अर्जुनधारा र मेचीनगरका चुरे क्षेत्रका करिब ४० प्रतिशत र महेन्द्र राजमार्ग दक्षिणका बिर्तामोड, कनकाई, शिवसताक्षी, गौरादह र दमकमा समेत २० प्रतिशत किसान यसमा जोडिएका छन् ।

सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत झापामा 'सुपारी जोन' कार्यक्रम लागू गरेको छ । यस अन्तर्गत आबद्ध किसान तथा सहकारी समूहलाई गोदाम घर निर्माण, आधुनिक प्रशोधन उद्योग स्थापना र कृषि औजार खरिदमा ५० देखि ७५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइँदै आएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए ।

स्वदेशी उत्पादन मजबुत र बजार सुनिश्चित भए तापनि तेस्रो मुलुकबाट अवैध रूपमा आयात गरिने सुपारीको 'तस्करी धन्दा'का कारण बेलाबेला स्थानीय किसानले सही मूल्य नपाउने ठूलो चुनौती अझै कायम छ । स्थानीय उत्पादकहरूले स्वदेशी सुपारीको प्रवर्द्धनका लागि राज्यले सीमा क्षेत्रमा कडाइ र छुट्टै 'सुपारी अनुसन्धान केन्द्र' स्थापना गर्नुपर्ने माग राख्दै आएका छन् ।