काठमाडौँ, १७ असार । अवैध मार्ग (डङ्की रूट) प्रयोग गरेर अमेरिका हिँड्ने नेपाली युवाहरूको दर्दनाक र सङ्घर्षपूर्ण यात्रामा आधारित उपन्यास ‘डङ्कीः सपनाको कालबाटो’ सार्वजनिक भएको छ।
राजधानी काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच मदन पुरस्कार विजेता लेखक कृष्ण धरावासी, पत्रकार तथा उपन्यासकार वसन्त बस्नेत, साहित्यकार बिना थिङ, कवि शंकर गिरी (पथिक) र स्वयं कृतिकार डा. चन्द्र गिरीले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन्।
बुकहिल प्रकाशनले बजारमा ल्याएको यस उपन्यासको मूल्य ७१७ रुपैयाँ तोकिएको छ। पेसाले वैज्ञानिक रहेका र अमेरिकालाई कर्मथलो बनाएका डा. गिरीको यो तेस्रो कृति हो। यसअघि उनका ‘मैले नदेखेको सपना’ (आत्मकथा) र ‘संसारको सेरोफेरो’ (यात्रा संस्मरण) प्रकाशित भइसकेका छन्।
विमोचन कार्यक्रमका वक्ताहरूले उपन्यासले देशको समसामयिक र जल्दोबल्दो समस्यालाई साहित्यमार्फत ऐना देखाएको भन्दै यस विषयमा सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै आख्यानकार कृष्ण धरावासीले आफ्नो उपन्यास ‘तल्लो बाटो’ (२०७४) सँग विषयवस्तु मिल्दोजुल्दो भए पनि ‘डङ्की’ को कथाशैली र दृष्टिकोण नितान्त फरक रहेको बताए। "मैले भुक्तभोगीहरूसँग कुराकानी गरेर लेखेको थिएँ, तर डा. गिरी आफैँ ती जोखिमपूर्ण ठाउँहरूमा पुगेर अध्ययन गरी लेखेकाले यो कृति बढी प्रामाणिक र पठनीय बनेको छ," धरावासीले भने।
त्यसैगरी पत्रकार तथा उपन्यासकार वसन्त बस्नेतले आजको दिनमा नेपाली समाजका लागि अमेरिका एउटा भूगोल मात्र नभएर मानसिक अवस्था बनिसकेको टिप्पणी गरे। उनले ‘डङ्की’ उपन्यासका लागि मात्र नलेखिएर पर्याप्त अध्ययन र अनुसन्धान गरेर लेखिएको गजबको कृति भएको दाबी गरे।
साहित्यकार बिना थिङले उपन्यासले नेपाली समाजको आर्थिक, सामाजिक र राजनीतिक धड्कनलाई दुरुस्तै उतारेको बताउँदै कष्टकर बाटोबाट अमेरिका जान बाध्य नागरिकहरूको समस्या समाधानका लागि राज्यले समयमै कदम चाल्नुपर्ने विचार व्यक्त गरिन्।
समीक्षक राजकुमार बानियाँले पुस्तकलाई सामाजिक यथार्थमा आधारित समकालीन आप्रवासन आख्यानको रूपमा चित्रण गरे। नेपालीको पीडा र विवशतालाई समेटेको यो कृतिले लेखक डा. चन्द्र गिरीलाई नेपाली साहित्यमा ‘साहित्यिक नागरिकता’ दिलाएको बानियाँको भनाइ थियो। कार्यक्रममा कवि उषा शेरचन र प्रल्हाद पोखरेलले पनि कृतिको सफलताको कामना गर्दै शुभकामना मन्तव्य राखेका थिए।
उपन्यासमा इलामका एक नेपाली युवकले अमेरिका पुग्न रोजेको अत्यन्तै जोखिमपूर्ण ‘डङ्की रूट’ र त्यस क्रममा भोगेका भोगाइहरूलाई संस्मरणात्मक शैलीमा प्रस्तुत गरिएको छ।
लेखक डा. चन्द्र गिरीका अनुसार यो पुस्तक केवल अवैध सीमा पार गर्ने कथा मात्र नभई मानिसको आशा, साहस, निराशा र आत्मसम्मानको दस्तावेज हो। संसारभर भेटिएका नेपाली तथा अन्य देशका आप्रवासीहरूको वास्तविक अनुभवले नै आफूलाई यो उपन्यास लेख्न प्रेरणा मिलेको उनले जानकारी दिए।














