धनुषामा ससुराको हत्या गरी ज्वाइँ फरार भएका छन्।

बुधबार बिहान ९ बजेतिर जनकपुरधामको हनुमाननगर बस्ने ७० वर्षीय बासुदेवप्रसाद विमलको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीले जानकारी दिए।

जनकपुरकै कुर्था बस्ने ज्वाइँ बेचन महासेठ फरार छन्।

उनले बिहान विमल भएको ठाउँमा पुगेर चक्कु प्रहार गरेको एसपी रेग्मीले बताए।

 जनहितमा जारी

प्रहरीले चक्कु पनि बरामद गरेको छ।

विमलको छाती र पेटमा गरी चार ठाउँमा चोट छ। 

उनलाई चक्कु प्रहार भएपछि अन्दाजी १५ वर्षीय नातिले उद्धार गरी अस्पताल लगेका थिए।

जनकपुरको प्रादेशिक अस्पताल लग्दालग्दै उनको मृत्यु भएको थियो। चिकित्सकले ल्याउन बित्तिकै उनलाई मृत घोषणा गरेको एसपी रेग्मीले बताए।

हत्या गर्नुको कारण खुलिसकेको छैन। यद्यपि घटना हेर्दा योजनाबद्ध रहेको प्रहरीको भनाइ छ।

‘घटना हेर्दा योजनाबद्ध रूपमा गरेको देखिन्छ। घरमा कोही नभएको बेलामा आएर हत्या गरी भागेका छन्,’ एसपी रेग्मीले भने, ‘उनको खोजी भइरहेको छ।’

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।