झापा- कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशानालय धनकुटाले जनाएको छ ।

निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन् । जसमा तीन जनाको मृत्यु भएको उनले बताइन्।

पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित अत्यन्त न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको निर्देशानालको तथ्याङ्कले देखाएको छ । हालसम्म मोरङमा ९१३, झापा ८९७, सुनसरी ३७७, उदयपुरमा २७५, भोजपुर २२६, धनकुट्टा १४३, ओखलढुङ्गा १२१, पाँचथर ७०, खोटाङ १०, ताप्लेजुङ दुई, इलाम पाँच, सोलुखुम्बु ६ र तेह्रथुम दुई जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले जानकारी दिइन् ।

उनले विगत ५० वर्षको अवधिमा विश्वमा डेङ्गुको सङ्क्रमण ३० गुणाले बढेको पाइएको बताइन् । उनले प्रत्येक जिल्लामा स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीहरूद्वारा खोजपड्ताल र नष्ट गर्ने कार्यक्रम भइरहेको बताइन् ।

निर्देशनालयकी अधिकृत खत्रीले एडिज एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोकेमा डेङ्गुको सङ्क्रमण हुने हुँदा पूरा बाहुला भएको वा शरीर पूरै ढाकिने लुगा लगाउन अनुरोध गरिन् ।

“डेङ्गु हुनबाट बच्ने एउटै मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिने हो”, उनले भनिन्, “घर वरिपरि सफा राख्ने र पानी जम्ने भाँडाकुँडा हटाउने गरेमा पनि एडिज जातको लामखुट्टेबाट बच्न सकिन्छ ।”

असाध्यै शरीर दुख्ने, खाना मन नलाग्ने, पखाला लाग्ने, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा बान्ता हुनु आदि डेङ्गुको लक्षण रहेको उनको भनाइ छ ।

उनले यिनै लक्षणका आधारमा चिकित्सकहरूले डेङ्गु सङ्क्रमितको किटको माध्यमबाट चेकजाँच र उपचार गर्ने बताइन् ।