झापा, २५ साउन : संघर्ष र मेहनतको लामो यात्रापछि ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ मा उत्कृष्ट ७ मा स्थान बनाउन सफल भएकी गायिका जुनु प्रसाई अहिले टप ६ प्रवेशको तयारीमा छिन्।
केही वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेकी जुनुले, व्यावसायिक जीवनको व्यस्ततामाझ पनि गीत–संगीतलाई कहिल्यै बिर्सिन दिइनन्। रोजगारीसँगै कतारमै विभिन्न सांगितिक कार्यक्रममा सहभागी हुँदै उनले आफ्नो कला निरन्तर निखारिन्।
अब भने उनले वर्षौँदेखिको सपना पुरा गर्न स्वदेश फर्केर ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को ठूलो मञ्चमा साहसिक यात्रा सुरु गरेकी छन्। उनले दर्शक श्रोताहरूलाई भोटमार्फत समर्थन गर्न आग्रह गरेकी छन्।
‘मेरो भ्वाइस युनिभर्स सिजन २’ नेपाल टेलिभिजनबाट प्रसारित अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो हो, जसको आयोजना इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले गरेको हो। २३ देशका नेपाली मूलका प्रतिभाशाली गायक–गायिकाहरूको सहभागितामा भएको यस प्रतियोगितामा अडिसन राउण्ड विश्वका १३ मुलुकमा सम्पन्न भएको थियो। कतार अडिसनमार्फत छनोट भएकी जुनु अहिले फाइनल चरणसम्मको यात्रामा छन्।














