काठमाडौं : झापा दमकको सार्वजनिक जग्गा हिनामिना प्रकरणमा माओवादी केन्द्रका नेता गगन पुरी भनिने रेवतीराज पुरीसहित १४ जना दोषी ठहर भएका छन् ।

विशेष अदालतले रतुवा र दिपिनी खोला किनारको करिब ८०० रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराउन मुख्य भूमिका निर्वाह गर्ने माओवादी नेता पुरीलाई भ्रष्टाचारमा दोषी ठहर गरेको हो ।

व्यक्तिको नाममा दर्ता गरिएको जग्गा जफत गर्ने विशेषले फैसलामा गरेको छ ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले दुईवटा छुट्टाछुट्टै मुद्दामा फैसला सुनाएको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । ‘यस मुद्दामा दुईवटा छुट्टाछुट्टै मुद्दाहरू आएका थिए ।

fddfdfdfdf

कतिपय प्रतिवादीहरू दुईवटै मुद्दामा दोहोरिएका छन्,’ विशेष अदालतका सूचना अधिकारी रेग्मीले भने, ‘दुवैको एकसाथ फैसला भयो ।’ दुवै मुद्दामा नेता पुरी कसुरदार ठहर भएका छन् ।

एउटा मुद्दामा ९ जनालाई दोषी ठहर गरिएको छ भने अर्को मुद्दामा ११ जना दोषी ठहर भएका छन् । पुरीलाई एउटा मुद्दामा एक वर्ष कैद र बिगोअनुसार दामासाहीले २० लाख ८३ हजार ६७१ रुपैयाँ जरिवाना तोकिएको छ । अर्को मुद्दामा एक वर्ष कैद र ३१ लाख ५२ हजार ५५९ रुपैयाँ जरिवाना तोकिएको छ ।