बिर्तामोड, ८ साउन ।
संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले बिहीबार सार्वजनिक गरेको प्रगति विवरणअनुसार हाल संस्थाले ११ हजारभन्दा बढी धारा सञ्चालनमा ल्याएको छ।
बिर्तामोड नगरपालिकाका सबै १० वटा वडा तथा अर्जुनधारा नगरपालिकाका वडा नम्बर ५, ६ र ११ का केही क्षेत्रमा करिब ५७५ किलोमिटर पाइपलाइनमार्फत नियमित खानेपानी वितरण भइरहेको उनले जानकारी दिए।
बढ्दो जनघनत्वसँगै खानेपानीको माग पूरा गर्न संस्थाले पानी उत्पादन क्षमता वृद्धि गर्ने अभियानलाई तीव्र बनाएको छ। यसअन्तर्गत नयाँ डिप बोरिङ, फिल्टर प्लान्ट, पम्प र ट्रान्सफर्मर जडानको काम अन्तिम चरणमा पुगेको छ।
गरामनी र सैनिक बजार क्षेत्रमा समेत शुद्ध खानेपानी वितरण सुरु भइसकेको संस्थाले जनाएको छ।
एसियन हाइवे निर्माणका क्रममा क्षति पुगेका पुराना पाइपलाइनलाई प्रतिस्थापन गर्दै आधुनिक एचडीपीई पाइप जडानको काम भइरहेको छ। शनिश्चरे रोड, हर्कलाल मार्ग तथा महानन्द चोक–माता मन्दिर सडकखण्डलगायत विभिन्न स्थानमा नयाँ पाइपलाइन विस्तार सम्पन्न भइसकेको छ।
सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन संस्थाले डिजिटल प्रणालीलाई प्राथमिकतामा राखेको छ। प्रत्येक उपभोक्ताको घरमा क्यूआर कोडसहितको हाउस नम्बर प्लेट जडान गरिनुका साथै सम्पूर्ण पाइपलाइन सञ्जाल र संरचनालाई जीआईएस (GIS) प्रणालीमा आबद्ध गर्ने काम निरन्तर अघि बढिरहेको अध्यक्ष बाँस्तोलाले बताए।
संस्थाले आगामी वर्ष टेकबहादुर गिरी बसपार्क क्षेत्रमा नयाँ खानेपानी आयोजना सञ्चालन गर्ने, बिर्तामोडभित्र सञ्चालित अन्य खानेपानी आयोजनालाई क्रमशः एकीकृत गर्ने तथा सेवा क्षेत्रलाई चारपानेदेखि बाहदशी–हल्दीबारी सीमासम्म विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।
यद्यपि तीव्र शहरीकरण, अव्यवस्थित प्लटिङ, सडक तथा ढल निर्माणका क्रममा पाइपलाइनमा हुने क्षति, एसियन हाइवे निर्माण र मौसमजन्य प्रभावका कारण सेवा सञ्चालनमा चुनौती थपिएको संस्थाले स्वीकार गरेको छ।
अध्यक्ष बाँस्तोलाले चुनौतीका बाबजुद उपभोक्तालाई शुद्ध, सुरक्षित र गुणस्तरीय खानेपानी उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याउँदै भविष्यमा थप प्रविधिमैत्री, दिगो र उपभोक्तामुखी सेवा विस्तारलाई प्राथमिकतामा राखिने बताए।














