झापा। प्रेस सेन्टर नेपाल झापाद्वारा स्थापित ‘डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार–२०८३’ बाट पत्रकार चुडामणी तिम्सिना (सिएम शर्मा) पुरस्कृत हुनुभएको छ। स्वर्गीय डी कौडिन्यको स्मृति दिवसको अवसरमा बिहीबार झापाको बिर्तामोडमा आयोजित विशेष समारोहमा कोशी प्रदेशका पूर्व अर्थमन्त्री इन्द्र आङ्बो ‘मौसम’ ले ठोस खबर डटकमका सम्पादक तिम्सिनालाई नगद रु. ४२ हजार, दोसल्ला र सम्मानपत्रसहित उक्त पुरस्कार प्रदान गर्नुभएको हो।

स्वर्गीय डी कौडिन्यको स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाद्वारा बिहीबार झापाको बिर्तामोडमा आयोजित एक विशेष समारोहका बिच तिम्सिनालाई उक्त पुरस्कार प्रदान गरिएको हो। पुरस्कृत पत्रकार तिम्सिना 'ठोस खबर डटकम'का सम्पादक हुनुहुन्छ भने उहाँ कनकाई सुरुङ्गाका स्थायी निवासी हुनुहुन्छ।

कार्यक्रमका प्रमुख अतिथि एवम् कोशी प्रदेशका पूर्व अर्थमन्त्री इन्द्र आङ्बो ‘मौसम’ ले पुरस्कृत पत्रकार तिम्सिनालाई दोसल्ला ओढाइ नगद रु. ४२ हजार राशि र सम्मानपत्र हस्तान्तरण गर्नुभयो।

सोही अवसरमा पुरस्कृत प्रतिभा चुडामणीकी धर्मपत्नी सुनिता तिम्सिना तथा स्वर्गीय डी कौडिन्यकी धर्मपत्नी यमुना आचार्य दुवै जनालाई दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो।

 जनहितमा जारी

753694651_1694983871768814_3663152082864182298_n

तत्कालीन शाही नेपाली सेनाले २०५९ साल साउन ७ गते पक्राउ गरी झापाको चारआली ब्यारेकमा लगेर हत्या गरेका जनपक्षीय पत्रकार आचार्यको योगदानलाई स्मरण गर्दै प्रेस सेन्टर झापाले प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ।

पुरस्कार वितरण तथा सम्मान समारोहमा बोल्दै प्रमुख अतिथि आङ्बो तथा अन्य वक्ताहरूले सम्मानित व्यक्तित्व तिम्सिनाको योगदानको प्रशंसा गर्दै स्वर्गीय डी कौडिन्यले पत्रकारिता र समाज परिवर्तनमा पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, महासङ्घ झापा अध्यक्ष एकराज गिरी, प्रादेशिक सञ्चार प्रतिष्ठान कोशीका सदस्य अर्जुन राजवंशी, प्रेस सेन्टरका केन्द्रीय सचिव दिपिन राई, समाजवादी प्रेस सङ्गठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देल तथा नेपाली कम्युनिस्ट पार्टी झापाका संयोजक खड्गप्रसाद (पवन) तिम्सिना लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। समारोहमा झापाका विभिन्न सञ्चार सम्बद्ध सङ्गठनका प्रतिनिधि, पत्रकार तथा सामाजिक अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो।

आयोजक सङ्गठनका उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वर्गीय डी कौडिन्यको जीवनी तथा उहाँले पत्रकारिता क्षेत्रमा पुर्‍याउनुभएको योगदानमाथि प्रकाश पार्नुभएको उक्त कार्यक्रमको सञ्चालन सचिव प्रकाश उप्रेतीले गर्नुभएको थियो भने सहसचिव राजन साम्पाङले स्वागत मन्तव्य राख्नुभएको थियो।