बिर्तामोड, साउन ९। समाजमा बढ्दै गइरहेका पारिवारिक विखण्डन, महिला हिंसा, सामाजिक विभेद, बेवास्ता र संघर्षका यथार्थ पक्षलाई जनचेतनामूलक शैलीमा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण हुन लागेको नेपाली लघुचलचित्र ‘आशाको किरण’ को शुभमुहूर्त सम्पन्न गरिएको छ।
बहुभाषिक साहित्य संगीत कला केन्द्रको प्रस्तुति रहने उक्त लघुचलचित्रको शुभमुहूर्त एक विशेष कार्यक्रमबीच सम्पन्न भएको हो।
कार्यक्रममा साहित्यकार, कलाकार, सामाजिक अभियन्ता तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
लघुचलचित्रका कथा, पटकथा तथा निर्देशक जितेन्द्र श्रेष्ठ (जतिन) ले ‘आशाको किरण’ केवल मनोरञ्जनका लागि नभई समाजमा देखिएका विकृति–विसंगतिलाई उजागर गर्दै सकारात्मक परिवर्तनको सन्देश प्रवाह गर्ने उद्देश्यले निर्माण गर्न लागिएको बताए। उनका अनुसार चलचित्रले पारिवारिक सम्बन्धमा देखिने उतारचढाव, महिलाले भोग्नुपरेका पीडा, संघर्ष र अन्ततः आशा तथा आत्मविश्वासको यात्रालाई यथार्थपरक ढंगले चित्रण गर्नेछ।

“हामीले दैनिक समाजमा देखिरहेका धेरै घटनाहरू सञ्चारमाध्यममा समाचारका रूपमा मात्रै सीमित हुन्छन्। ती घटनाको वास्तविक पीडा र त्यसबाट समाजले सिक्नुपर्ने पक्षलाई कलात्मक माध्यमबाटप्रस्तुत गर्ने प्रयास गरेका छौं,” निर्देशक श्रेष्ठले भने, “यस चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै सोच्न बाध्य बनाउने विश्वास लिएका छौं।”
कार्यक्रमलाई सम्बोधन गर्दै बहुभाषिक साहित्य संगीत कला केन्द्रका अध्यक्ष प्राज्ञ हरिप्रसाद पौडेल ले २०७६ सालमा स्थापना भएको केन्द्रले साहित्य, संगीत, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निरन्तर काम गर्दै आएको बताए।
उनले पछिल्लो समय समाजमा बढिरहेका घरेलु हिंसा, सामाजिक असमानता, नैतिक विचलन र पारिवारिक विखण्डनजस्ता विषयलाई कलामार्फत जनचेतनामूलक ढंगले उठाउन आवश्यक देखिएकाले ‘आशाको किरण’ निर्माणको अभियान अघि बढाइएको जानकारी दिए।
उनका अनुसार साहित्य र कला समाज परिवर्तनका प्रभावकारी माध्यम भएकाले चलचित्रले सकारात्मक सन्देश दिन सक्ने विश्वास गरिएको छ।
“हामीले सिर्जना गर्ने प्रत्येक कृतिले समाजलाई केही न केही सन्देश दिनुपर्छ भन्ने मान्यताका साथ यो परियोजना अघि बढाएका हौं,” उनले भने।
निर्माण पक्षका अनुसार चलचित्रमा अनुभवी तथा नयाँ कलाकारहरूको संयोजन गरिएको छ। चलचित्रमा कुमार अनुरागी, सिम्रन आचार्य, अनिसा न्यौपाने, सञ्जय शिवाकोटी, ताराप्रकाश भट्टराई, डीगबहादुर लिम्बू, लक्ष्मी मिश्र र पूर्ण सुनुवार को अभिनय रहनेछ।
प्राविधिक पक्षमा हरी चौधरी को छायाङ्कन तथा तीलक रिजाल को सम्पादन रहनेछ। निर्माण टोलीले गुणस्तरीय प्रस्तुति दिन छायाङ्कन, सम्पादन र कथावस्तुमा विशेष ध्यान दिइएको जनाएको छ।
चलचित्र निर्माणका लागि बहुभाषिक साहित्य संगीत कला केन्द्रले छुट्टै कार्यसमिति समेत गठन गरेको छ। निर्माण सल्लाहकार संयोजकमा अध्यक्ष प्राज्ञ हरिप्रसाद पौडेल रहेका छन् भने सदस्यहरूमा सत्यनारायण तायल र लक्ष्मी मिश्र रहेका छन्।
त्यसैगरी निर्माण संयोजकमा जितेन्द्र श्रेष्ठ (जतिन), सहसंयोजकमा कुमार अनुरागी, आर्थिक संयोजकमा डीगबहादुर लिम्बू, सह–आर्थिक संयोजकमा हरिप्रसाद गौतम, निर्माण व्यवस्थापकमा निरज पोखरेल, सह–व्यवस्थापकमा मिलन श्रेष्ठ, यातायात व्यवस्थापकमा सञ्जय शिवाकोटी तथा सदस्यहरूमा सिम्रन आचार्य र अनिसा न्यौपाने रहेका छन्।
निर्देशक श्रेष्ठका अनुसार चलचित्रको नियमित छायाङ्कन आगामी साउन २८ गतेदेखि झापाका विभिन्न स्थानमा सुरु हुनेछ।
छायाङ्कन सम्पन्न भएपछि पोस्ट–प्रोडक्सन कार्य गरी चलचित्रलाई डिजिटल प्लेटफर्म तथा विभिन्न सामाजिक कार्यक्रममार्फत दर्शकमाझ ल्याउने तयारी गरिएको छ।
निर्माण पक्षले ‘आशाको किरण’ समाजमा सकारात्मक सोच, पारिवारिक एकता, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गर्ने उद्देश्य बोकेको जनाएको छ। सामाजिक यथार्थमा आधारित कथावस्तु भएकाले सबै उमेर समूहका दर्शकले चलचित्रबाट प्रेरणा लिन सक्ने विश्वास निर्माण टोलीको छ।














