बिर्तामोड, ३० साउन । प्रेस चौतारी नेपाल झापाका संस्थापक अध्यक्ष नेत्रप्रसाद पाठकको स्मृतिमा स्थापित लेखनवृत्ति पुरस्कार पत्रकार रमा दाहाललाई प्रदान गरिएको छ ।

आज झापाबाट कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार दाहाललाई प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले उक्त पुरस्कार प्रदान गरेकी हुन् ।

आजै लेखनवृत्तिका लागि आर्थिक, कृषि र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई लेखनवृत्ति दिने घोषणा गरिएको छ ।

पहिलो लेखनवृत्ति प्रदान गर्दै प्रेस चौतारी झापाले ६÷६ महिनामा प्रदान गरिने लेखनवृत्तिको लागि विषय घोषणा गरेको हो । प्रेस चौतारी झापाका नेता एवम् नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले विषयसहित दाता घोषणा गरेका थिए ।

दोस्रो लेखनवृत्ति प्रेस चौतारीका केन्द्रीय सदस्य कोशी प्रदेशका सहइञ्चार्ज गोपाल काफ्लेले वित्तीय क्षेत्रमा, तेस्रो अग्रज पत्रकार खगेन्द्र भण्डारीले कृषि र चौँथो प्रेस चौतारीका कोशी प्रदेशका सचिव लक्ष्मी उप्रेतीले स्वाथ्य क्षेत्रको विषयमा उत्कृष्ट समाचार लेख्नेहरुलाई नगदसहित लेखनवृत्ति प्रदान गर्ने घोषणा गरेका छन् ।

पहिलो लेखनवृत्तिका लागि पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीले ५ हजार राशिको पुरस्कार सहयोग गरेकी थिइन् । पहिलो लेखनवृत्तिका लागि पुरस्कृत पत्रकार दाहालको मुस्लिम महिलाहरुको न्यायमा पहुँच पुग्न नसकेको विषयको समाचार छनौटमा परेको थियो ।

pradip1

यसैबीच प्रेस चौतारी नेपाल झापाले नारी सञ्चार गृहमा निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ । नगरप्रमुख प्रसाईले बधाई ज्ञापन गरिन् । कार्यक्रमको अवसरमा जिल्लाभरका महिला पत्रकारहरुलाई दर खुवाइएको थियो । तीज मिलन समारोह समेत आयोजना गर्दै एक अर्कामा खुशी साटासाट गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख प्रसाई, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, प्रेस चौतारीका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश सहइञ्चार्ज गोपाल काफ्ले, नारी सञ्चार गृह झापा अध्यक्ष स्वस्तिका आचार्य, नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुंगेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष सुनिरा मैनालीले र सञ्चालन सचिव युवराज आचार्यले गरेका थिए ।