बिर्तामोड । भरत प्रसाई ,  ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी र तेह्रथुमको आठराई ह्वाकूमा हुर्केकी जूनु प्रसाई महिलाहरुको प्रतिनिधित्व गर्दै विश्वकै सर्वाधिक पुरस्कार रहेको नेपाली रियालिटी शोको फाइनल सिक्समा पुग्न सफल भएकी छन् ।

सानो उमेरमै गायनप्रति असाधारण रुचि देखाएकी प्रसाईलाई आज बिर्तामोड स्थित जयेन्द्र स्मृति प्रतिष्ठानको सभाहलमा प्रसाई ट्रष्ट कल्याण कोष जुनु जिताऔं अभियानले २१ ह्जार नगद सहयोग प्रदान गरेको छ । प्रसाई ट्रष्ट कल्याण कोषले जुनुको विजयीका लागि अभियान सञ्चालन गरिरहेको छ ।

प्रसाईको त्यही लगन र प्रतिभाले उनलाई विद्यालयदेखि स्थानीय मंचसम्म, र पछि झापासम्मको यात्रा गरायो, जहाँ उनले टेलिभिजन कार्यक्रम सञ्चालनसंगै विभिन्न सांगीतिक कार्यक्रम मार्फत लोकप्रियता कमाउन सफल भइन । केही वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेकी जुनुले, व्यावसायिक जीवनको व्यस्ततामाझ पनि गीत–संगीतलाई कहिल्यै बिर्सिन दिइनन्।

 

 जनहितमा जारी

रोजगारीसँगै कतारमै विभिन्न सांगितिक कार्यक्रममा सहभागी हुँदै उनले आफ्नो कला निरन्तर निखारिन्। अब भने उनले वर्षौँदेखिको सपना पुरा गर्न स्वदेश फर्केर ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को ठूलो मञ्चमा साहसिक यात्रा सुरु गरेकी छन्। उनले दर्शक श्रोताहरूलाई भोटमार्फत समर्थन गर्न आग्रह गरेकी छन्।

 

‘मेरो भ्वाइस युनिभर्स सिजन २’ नेपाल टेलिभिजनबाट प्रसारित अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो हो, जसको आयोजना इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले गरेको हो।

 

२३ देशका नेपाली मूलका प्रतिभाशाली गायक–गायिकाहरूको सहभागितामा भएको यस प्रतियोगितामा अडिसन राउण्ड विश्वका १३ मुलुकमा सम्पन्न भएको थियो। कतार अडिसनमार्फत छनोट भएकी जुनु अहिले फाइनलमा प्रवेश गर्ने एक मात्र महिला प्रतिस्पर्धी हुन ।