काठमाडौं — १८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले आफ्नो इतिहासमै पहिलो पटक एकल फोटो प्रदर्शनी आयोजना गरेको छ।
‘फ्लाइट एन्ड फ्रेम’ शीर्षकमा अध्यक्ष प्रदीपराज वन्तको एकल प्रदर्शनी राजधानीको हनुमानढोका दरबार क्षेत्रमा भदौ ३ गते (अगष्ट १९) दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म चल्यो।
प्रदर्शनीमा वन्तले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकालमा अफिसियल फोटोपत्रकार रहँदा खिचिएका करिब ६० तस्वीर सार्वजनिक गरे। तीमध्ये धेरै तस्वीर नेपालका भौगोलिक र पर्यटकीय क्षेत्रहरूलाई हेलिकप्टरबाट खिचिएका थिए।
एनएफपिजेले आगामी दिनमा अन्य सदस्यहरूको पनि व्यक्तिगत प्रदर्शनी गर्ने योजना बनाएको जनाएको छ।
कार्यक्रमको उद्घाटन संस्थाका पूर्वअध्यक्ष मिनरत्न बज्राचार्य र वरिष्ठ फोटोपत्रकार कविन्द्रमान शाक्यले संयुक्त रूपमा गरे।
प्रदर्शनीमा फोटोपत्रकार, सञ्चारकर्मी, फोटोग्राफर, विद्यार्थी, स्थानीयबासी तथा विदेशी पर्यटकको उल्लेख्य उपस्थिति थियो।
समूहका महासचिव घनश्याम श्रेष्ठले प्रदर्शनीले विश्व फोटोग्राफी दिवसलाई अर्थपूर्ण बनाउनुका साथै फोटो पत्रकारिताको महत्व उजागर गर्न योगदान पुर्याएको बताए।














