झापा, बिर्तामोड ।भरत प्रसाई,
बिर्तामोड–३ मा अवस्थित लिङ्कन मन्टेश्वरी विद्यालयले पठन–पाठनसँगै संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले ‘दशैं मिलन कार्यक्रम’ सम्पन्न गरेको छ।
दशैं आउन केही दिन बाँकी भएपनि विद्यालय आजदेखि बिदा हुने भएकाले विद्यार्थीहरूलाई पर्वसम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिनुभयो।
कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी शिक्षा शाखा अधिकृत जानुका रेग्मी रहनुभएको थियो।
विशिष्ट अतिथिका रूपमा न्युटन एजुकेसन फाउण्डेशनका प्रिन्सिपल देवेन्द्र हुमागाईंको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा प्रमुख अतिथि रेग्मीले बालबालिकालाई टीका–जमरा लगाउँदै, पठन–सिकाइसँगै संस्कृतिको संरक्षणमा सहभागी गराउनु सामाजिक उत्तरदायित्व अन्तर्गतको महत्वपूर्ण कार्य भएको बताउनुभयो।
उहाँले बालबालिकाको मस्तिष्क ‘माटा’ जस्तै हुने भएकाले बेलैमा संस्कार र ज्ञान भर्न सके भोलिको समाज सुन्दर र सशक्त बन्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयका सञ्चालक सरोज पौडेलले दशैं पर्व मनाउने तरिका बालबालिकालाई बुझाउन सांस्कृतिक अभ्यासका रूपमा कार्यक्रम गरिएको बताउनुभयो।
उहाँले विद्यालयले पठनसंगै सांस्कृतिक र सामाजिक चेतनालाई प्राथमिकतामा राख्दै दशैं–तिहारलगायत अन्य पर्वमा पनि विशेष कार्यक्रम गर्दै आएको स्मरण गर्नुभयो।
कार्यक्रमका बीच शिक्षण–सिकाइमा उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई सम्मान समेत गरिएको थियो। टिका र जमरामा सजिएका नानी–बाबुहरू खुसी हुँदै दशैं पर्वको अनुभव व्यक्त गरिरहेको देख्दा, "हरेक कुराको सुरुवात बालापनबाटै हुन्छ," भन्दै विद्यार्थी नवीन कार्कीका बुबाले यस किसिमका कार्यक्रमले बालबालिकामा संस्कृतिप्रतिको चासो र ज्ञान बढाउने धारणा राख्नुभयो।
हाल लिङ्कन मन्टेश्वरी विद्यालयमा ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
विद्यालयले पठनसँगै संस्कृतिको संरक्षणमा जोड दिँदै सामाजिक उत्तरदायित्व वहन गरिरहेको भन्दै सहभागी अभिभावकहरूले विद्यालयको प्रशंसा गरेका थिए ।
नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुव्रत न्यौपाने ,पत्रकार भरत प्रसाई,देब बाँस्कोटा लगायत अभिभावक र अभिरुचिकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।














