बिर्तामोड ।

दशैंको फुलपाती अर्थात् असोज १३ गतेदेखि नेपालभरका सम्पूर्ण सिनेमा हलमा सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र हरिबहादुरको जुत्ताले सुखद ओपनिङ गरेको छ।


हरिवंश आचार्यलाई शीर्ष भूमिकामा लिएर निर्माण गरिएको यो चलचित्रले देशभित्र मात्र नभई अमेरिकाका ८० भन्दा बढी पर्दामा एकसाथ रिलिज भएको छ। अमेरिकामा चलचित्रको वितरण आहाना पौडेलमार्फत भइरहेको छ।


निर्देशक दिपेन्द्र के. खनालले निर्देशन गरेको हरिबहादुरको जुत्तामा हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, सीता न्यौपाने, दिनेश काफ्ले र कमलमणि नेपालको अभिनय रहेको छ।

दुई घण्टा २१ मिनेट ४० सेकेन्ड लामो चलचित्रले राजनीतिक अवस्था, गरिबी र जनतामाथि खेलिने फोहोरी खेललाई व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गरेको छ।


झापाली स्रष्टा सरोज ओली र मोहित वंश आचार्यको निर्माण रहेको यस चलचित्रमा झापाली गायक तथा संगीतकार समीर खरेलले आवाज र संगीत दिएका छन्।


देशभरका हलमा अग्रिम टिकट बिक्री सन्तोषजनक रहेको निर्माण पक्षले दाबी गरेको छ। बिर्तामोडस्थित पाथिभरा सिनेप्लाजाको बिहानी शो दर्शकले भरिएको थियो भने झापाको वान स्टेप महलसहित विभिन्न हलमा उल्लेख्य दर्शक उपस्थिति देखिएको छ।


चलचित्रले दर्शकलाई कहिले भावुक बनाउँछ भने कहिले पेट मिचीमिची हाँस्न बाध्य बनाउँछ। हरिवंश आचार्यद्वारा लेखिएको कथा मुख्यतः उनको पात्रमा केन्द्रित भए पनि, चलचित्रले नेपालको राजनीति, गरिबी र जनजीवनका यथार्थ विषयलाई उठान गरेको देखिन्छ।