काभ्रेपलाञ्चोक, १६ असोज ।

बीपी राजमार्गमा असोज १६ गतेदेखि २१ गतेसम्म राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

स्थानीय प्रशासनले मनसुन सक्रिय हुँदै गर्दा सम्भावित जोखिम न्यूनीकरणका लागि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको हो ।

काभ्रे भञ्ज्याङ–भकुण्डेबेसी–सिन्धुली सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सवारी साधन रोक्न जिल्लास्तरीय सुरक्षा तथा विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको सम्भावना उच्च रहेको भन्दै सतर्कता अपनाउन निर्देशन दिएको थियो ।

बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै एम्बुलेन्स तथा अन्य अत्यावश्यक सेवाका सवारी साधनलाई भने सञ्चालन गर्न अनुमति दिइने जनाइएको छ ।

उनका अनुसार रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि प्रहरी तथा ट्राफिक प्रहरीले आवश्यकता अनुसार जुनसुकै स्थानमा सवारी साधन रोक्न सक्नेछन् ।