जनकपुरधाम । लगातारको वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका क्षेत्र पूर्ण रूपमा जलमग्न बनेको छ। शुक्रबार रातिदेखि सुरु भएको वर्षा अझै जारी रहेकोले शहरका अधिकांश बस्ती, बजार र सरकारी कार्यालय परिसर पानीमुनि छन्।
उपमहानगरपालिका प्रमुख मनोज साहका अनुसार यो वर्ष डुबान समस्या विशेष रूपमा गम्भीर बनेको छ। उनले भने, “पानीको उचित निकास नहुँदा शहरका मुख्य सडकदेखि आवासीय क्षेत्रसम्म डुबान भएको छ। नागरिकहरूले घरभित्रै पानी जमेको गुनासो गरेका छन्।”
रामानन्दचोक, जानकी मन्दिर क्षेत्र, राजदेवी मन्दिर रोड, सब्जी बजार र अस्पताल वरिपरिका क्षेत्रमा पानीको स्तर लगातार बढिरहेको छ। सरकारी निकायहरू समेत प्रभावित भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय र हुलाक कार्यालयजस्ता भवन परिसर पनि डुबानको प्रभावमा छन्।
शहरका प्रमुख बजार क्षेत्रमा पानी पस्दा व्यावसायिक क्रियाकलाप ठप्प भएका छन्। व्यापारीहरूले पसल खोल्न नसक्दा दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति प्रभावित भएको जनाइएको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशका नदीहरूमा जलस्तर बढिरहेको जानकारी दिँदै सुरक्षा निकायलाई पूर्ण तयारीमा रहन निर्देशन दिएका छन्।
उनले जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न आदेश पनि दिएका छन्। उनले भने, “बाढी र डुबानले जनजीवन जोखिममा परेको छ। प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले समन्वय गरेर उद्धार र राहतका उपायहरू तुरुन्त अपनाउनुपर्छ।”
प्रदेश सरकारका अनुसार बागमती नदीमा करिब ५,५०० क्युसेक पानी बहिरहेको छ, जुन खतराको तहभन्दा ५०० क्युसेक बढी हो।
बागमती बराजका सबै ३६ ढोका खोलिएका छन् र कुलेखानी जलविद्युत् केन्द्रका ढोका खोलिँदै गएकाले नदीमा थप पानी आउन सक्ने भएकोले रौतहट–सर्लाहीका तटीय क्षेत्र उच्च सतर्क रहनुपर्ने चेतावनी दिइएको छ।
सुरक्षा निकायका अनुसार अहिलेसम्म ठूलो मानवीय क्षति भएको छैन। तर प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उद्धारका लागि सतर्क अवस्थामा छन् र जोखिम क्षेत्रका वासिन्दालाई निरन्तर सचेत गराइरहेको जनाइएको छ।
सशस्त्र प्रहरीले तटबन्ध मर्मत र तत्काल उद्धार कार्यका लागि तयारी बढाएको छ भने स्थानीय प्रशासनले किसान र नागरिकलाई सतर्क रहन अपील गरेको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाले पनि नदी आसपासका वासिन्दालाई उच्च सतर्क रहन अनुरोध गरेको छ। कमला र रातु खोला सतह बढ्दै गएको र कुनै पनि बेला तटीय क्षेत्र प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।
उपमहानगरपालिकाले नागरिकहरूलाई अनावश्यक आवतजावत नगर्न, विद्युत् उपकरण सुरक्षित स्थानमा राख्न र विद्यालयका गतिविधि अस्थायी रूपमा स्थगित गर्न अनुरोध गरेको छ।













