झापा- विभिन्न खोला तथा नदीहरूमा आएको भीषण बाढीका कारण झापा जिल्लामा करिब ४५० घरधुरी विस्थापित भएका छन्।

बाढीको उच्च जोखिम बढेपछि जिल्लाभरका प्रभावित परिवारहरूलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाढीले झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका, भद्रपुर र मेचीनगरलगायतका क्षेत्रमा ठूलो असर पुर्याएको छ, जसका कारण सयौँ परिवारको जनजीवन प्रभावित भएको छ।

झापा गाउँपालिका वडा नं. २ को सुँगाबथान क्षेत्रमा कन्काई माई नदीको बाढी पसेपछि ५६ घरधुरी विस्थापित भएका छन्, जसलाई हाल वडा नं. २ को कुवाडीदेवी माविमा आश्रय दिइएको छ।

 जनहितमा जारी

IMG-20251005-WA0003

त्यसैगरी, शिवसताक्षी नगरपालिका वडा नं. ४, ५, र ६ का साढे तीन सय (३५०) परिवार र वडा नं. ७ का करिब १५ घर बाढीको चपेटामा परेका छन्। शिवसताक्षी नगरपालिकामा बाढीको प्रभाव निकै ठूलो देखिएको छ।

यसबाहेक, भद्रपुर ५ मा मेची नदीको बाढी पस्दा करिब २५ घरपरिवार विस्थापित भएका छन्। त्यस्तै, मेचीनगरको सत्तीघट्टा र ज्यामिरगढी बीचको बस्तीमा पानी पसेपछि करिब २५ परिवारलाई पनि अन्यत्र सारिएको छ।

नदी र खोला किनारका बस्तीहरूमा बाढीले व्यापक क्षति पुर्याएको र विस्थापित परिवारलाई सुरक्षित बसोबासको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।