म्याग्दीको रघुगङ्गा गाउँपालिका– २ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ ।
म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम चिन र भारत जोड्ने सडक पनि हो ।
कालीगण्डकी नदीको तिरदेखि भगवतिको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो चलेपछि बीचमा रहेको सडकमा यातायात सञ्चालनमा समस्या भएको छ ।
यातायात व्यवसायी भोजबहादुर थापाले सिरुवारी र खामभित्ताको पहिरोले बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको बताए ।
‘सामान्य वर्षा हुनेबित्तिकै पहिरो खसेर सडक अवरुद्ध हुनुका साथै साँघुरो र हिलाम्मे सडकमा जोखिम मोलेर सवारीसाधन वारपार गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘सवारीसाधन गुडिरहेको र यात्रु हिँडिरहेको अवस्थामा माथिबाट ढुङ्गा खस्ने चोटपटक लाग्ने, क्षति पुग्ने गरेकाले सावधानी अपनाएर यातायात सञ्चालन गरेका छौँ ।’














