झापा, १ कात्तिक ।

प्राकृतिक विपद् प्रभावितको सहयोगका लागि जिल्लामा सञ्चालन भएको ‘एकका लागि एक’ अभियानअन्तर्गत झापा र इलामका बाढी–पहिरो पीडित परिवारलाई ५६ लाख रुपैयाँभन्दा बढी बराबरको राहत वितरण गरिएको छ ।

गत असोज १९ र २० गतेको अविरल वर्षापछि झापामा बाढी र इलाममा पहिरोले जनधनको ठूलो क्षति पुर्याउँदा सयौं परिवार विस्थापित भएका थिए ।

उक्त घटनापछि प्रभावितलाई सहयोग पुर्‍याउने उद्देश्यले ‘एकका लागि एक’ अभियान सुरु गरिएको थियो ।

अभियानका संयोजक महेन्द्र गिरीका अनुसार विभिन्न दाताबाट प्राप्त रु. ५५ लाख ७० हजार ७५० नगद तथा जिन्सी सामग्री जिल्लाका प्रभावित क्षेत्रहरूमा वितरण गरिएको हो ।

“विपद्को बेला सबै जुट्नुपर्छ भन्ने भावना बोकेर अभियान सुरु गरिएको थियो,” संयोजक गिरीले बताउनुभयो, “दाताहरूबाट प्राप्त रकम र सामग्री एकद्वार प्रणालीमार्फत प्रभावित परिवारसम्म पु¥याइएको छ ।”

अभियानले संकलित रकमबाट खाद्य सामग्री खरिद गरी जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी र सुरक्षा निकायको समन्वयमा राहत वितरण गरेको हो ।

झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका र इलामका पहिरो प्रभावित परिवारलाई उक्त राहत वितरण गरिएको अभियानले जनाएको छ ।

कोरोना महामारीको समयमा पनि ‘एकका लागि एक’ अभियानले विपन्न र प्रभावित जनसमुदायलाई सहयोग गरेको थियो ।

त्यसयता हरेक वर्ष प्राकृतिक विपद्मा परेका परिवारका लागि यस अभियानले राहत संकलन र वितरण गर्दै आएको छ ।

अभियानमार्फत नगदबाहेक ७०० परिवारका लागि सरसफाई सामग्री, ५०० प्याकेट हाइजिन किट, ३०० थान सेल्टर किट र २०० थान ब्ल्यांकेट समेत वितरण गरिएको छ ।

विपद् प्रभावित प्रत्येक परिवारलाई २५ केजी चामल, पाँच केजी आलु, दुई केजी नुन, दुई केजी दाल, एक लिटर खानेतेल, एक थान झुल, एक सेट त्रिपाल र एक थान ब्ल्यांकेटको दरले राहत प्रदान गरिएको अभियानले जनाएको छ ।

संयोजक गिरीका अनुसार राहत वितरणको क्षेत्र र प्रक्रिया जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहहरूको निर्णयअनुसार गरिएको हो ।