झापा, कार्तिक २ ।
झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाईस्थित एक घरको वरन्डाबाट नवजात शिशु जीवितै फेला परेकी छिन् ।
मिति २०८२ साल कार्तिक १ गते राति करिब ९ बजे सिमा आचार्यको घरको आगाडीको वरन्डामा करिब ४/५ दिनकी जस्तो देखिने एक नवजात छोरी फेला परेकी हुन् ।
सो शिशुलाई त्यही घरमा भाडामा बस्दै आएका ताप्लेजुङ श्रीजगा गाउँपालिका–७ का ओम प्रकाश तुमीहाङ लिम्बुले देखेर राति ९:१५ बजे इलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराएका थिए ।
सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर शिशुलाई उद्धार गरी स्थानीयवासी, भद्रभलादमी र जनप्रतिनिधिको उपस्थितिमा तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो । अस्पतालका अनुसार शिशुको अवस्था सामान्य रहेको छ ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।














