बिर्तामोड, कात्तिक ३ । भरत भाबुक प्रसाई 

झापाको बिर्तामोड–३ मा रहेको लिङ्कन मन्टेश्वरी विद्यालयले कलिला बालबालिकालाई आफ्ना चाडपर्व र संस्कृतिबारे जानकारी गराउने उद्देश्यले परम्परागत झल्कोयुक्त देउसी–भैलो कार्यक्रम सम्पन्न गरेको छ।


विद्यालयका सञ्चालक तथा अग्रज पत्रकार सरोज पौडेलका अनुसार कार्यक्रमको उद्देश्य साना भाइबहिनीहरूलाई लोकभाका, कला र परम्परागत संस्कृतिप्रतिको ज्ञान अभिवृद्धि गर्दै संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउनु रहेको थियो।


कार्यक्रममा विद्यार्थीहरू परम्परागत भेषभूषामा सजिएर अत्यन्त आकर्षक देखिएका थिए। बालबालिकाले प्रस्तुत गरेका गीत, नृत्य र देउसी–भैलोका भट्याउँदा विद्यालय परिसर सांस्कृतिक वातावरणमा रमाएको थियो।

IMG_7867

पौडेलका अनुसार “संस्कृतिको संरक्षण यस्ता साना प्रयासबाटै सम्भव हुन्छ,” भन्दै विद्यालयले बालमैत्री र संस्कृतिमैत्री दुवै वातावरण सिर्जना गर्न निरन्तर प्रयासरत रहेको बताउनुभयो।


कार्यक्रमको अवसरमा मोफसलका चर्चित स्रष्टा, गायक तथा संगीतकार समिर खरेलको सजीव प्रस्तुति समेत रहेको थियो। ‘हरिबहादुरको जुत्ता’ लगायतका चर्चित गीतका गायक खरेलले आफ्नो कोकिल स्वरले कार्यक्रमलाई झनै रौनकता थपेका थिए।


विद्यालयका सञ्चालक पौडेलले कार्यक्रममा सम्बोधन गर्दै बालबालिकामा कला, संस्कृतिप्रतिको सम्मान र राष्ट्रिय पहिचानको ज्ञान विकास गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।

उहाँका अनुसार लिङ्कन मन्टेस्वरीले नेपाली भाषा, कला, संस्कृति र बाल–मनोविज्ञानलाई समेटी वार्षिक क्यालेन्डर तयार गरी विद्यार्थीको आत्मविश्वास र सामूहिक सहभागिता बढाउने कार्य गर्दै आएको छ।


IMG_7845

कार्यक्रममा सञ्चारकर्मीहरू मोफसल अनलाइनका सम्पादक भरत प्रसाईं, सूर्योदय टेलिभिजनका उप–सम्पादक देव बास्कोटा, शब्दपत्र डट कमका प्रकाशक उद्धव पुरी, एबी न्यूज टेलिभिजन झापाका संवाददाता तथा साझा अनलाइनका सम्पादक सन्तोष न्यौपाने लगायत अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन शिक्षाकर्मी लोकेन्द्र  थपलियाले गर्नुभएको थियो।