बिर्तामोड, कात्तिक २ । भरत प्रसाई , 

‘प्रसाई बन्धुहरूको एकता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ स्थापना गरिएको प्रसाई ट्रस्ट कल्याण कोष बिर्तामोड नगर एकाइ कमिटीले दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।


बिर्तामोड नगर एकाइका अध्यक्ष तारा प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ट्रस्टका केन्द्रीय अध्यक्ष टिका प्रसाई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा दिवंगत अग्रज शाण्डिल्य कुलका ज्ञात तथा अज्ञात सहिदहरूप्रति एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। राष्ट्रिय गानको स्मरणपछि प्रमुख अतिथि प्रसाईले पानसमा दियो प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।

IMG_7909

कार्यक्रमका उपाध्यक्ष समीर प्रसाईले अतिथि तथा उपस्थित दाजुभाइ–दिदीबहिनीहरूलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। साथै, बेल्स मोडल स्कुलका विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरी कार्यक्रममा सांस्कृतिक रौनकता थपेका थिए।


शुभकामना मन्तव्यका क्रममा बिर्तामोड नगर एकाइका पूर्व सचिव जयकुमार प्रसाईले प्रसाई बन्धुबीचको एकता सुदृढ गर्न कार्यक्रम महत्त्वपूर्ण सुरुवात भएको बताउनुभयो। उहाँले परिवारभित्र सल्लाह, सद्भाव र सहकार्यको भावना प्रवर्द्धन गर्दै एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।


त्यस्तै, पूर्व जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य नारायण प्रसाईले समाजमा छरिएका सम्पूर्ण प्रसाईहरूबीच सहकार्य र परस्पर सहयोगको भावनाबाट उदाहरणीय समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले “हामी सबै एउटै कुलका सन्तान हौं, भिन्नता हुँदाहुँदै पनि एकताको सूत्रमा बाँधिन जरुरी छ,” भन्नुभयो।

IMG_7908

मेचीनगर एकाइ अध्यक्ष दुर्गा प्रसाईले अन्य नगर एकाइहरूले पनि यस्तै सांस्कृतिक तथा सामाजिक कार्यक्रम आयोजना गरी एकताको सन्देश फैलाउनुपर्नेमा जोड दिनुभयो।


कार्यक्रमका बीचमा लोकप्रिय कलाकार तथा झापाली चेली जुनु प्रसाईले आफ्ना मधुर गीत–संगीत प्रस्तुति दिँदै सबैको मन जित्नुभएको थियो। उहाँले परिवारजनबाट पाएको माया र सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै आफू प्रसाई परिवारको सदस्य हुन पाएकोमा गर्व महसुस गरेको बताउनुभयो।


कार्यक्रममा विशेष अतिथि ट्रस्टका केन्द्रीय अध्यक्ष टिका प्रसाईले १०२ वर्षका ज्येष्ठ नागरिक धरणी प्रसाद प्रसाईलाई खादा, दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गर्नुभयो। सम्मानपत्र बेल्स मोडल स्कुलका प्रिन्सिपल तथा एकाइ अध्यक्ष तारा प्रसाईले वाचन गर्नुभएको थियो।


कार्यक्रमका बीचमा बेल्स मोडल स्कुलका कलाकार भाइबहिनीहरूले प्रस्तुत गरेको सांस्कृतिक प्रस्तुति मनमोहक बनेको थियो। उपस्थित अतिथि तथा कार्यसमिति सदस्यहरूले उनीहरूलाई सम्मानपत्र र मायाको चिनोद्वारा सम्मान गरेका थिए।


सामूहिक देउसी–भैलो खेल्दै प्रसाई बन्धु दाजुभाइ, दिदीबहिनी र कार्यसमिति परिवारका सदस्यहरूले दीपावलीको उल्लास साटासाट गरेका थिए।

IMG_7909 1कार्यक्रममा राजकुमार प्रसाईले विज्ञान र प्रविधिको प्रयोगमार्फत ट्रस्टले आयआर्जनका नवीन क्षेत्रहरू पहिचान गर्नुपर्ने सुझाव दिनुभयो।

कार्यक्रममा   केन्द्रिय सदस्यहरु अग्नी प्रसाई ,सिता  प्रसाई , संगिता प्रसाई, देबकला प्रसाई , सन्तोश कुमार प्रसाई  गंगन प्रसाई ,युवराज प्रसाई , सञ्चारकर्मी भरत प्रसाई,  रञ्जित प्रसाई, कन्काई नगर एकाइ अध्यक्ष सन्तोष प्रसाई, झापा गाउँपालिका एकाइ अध्यक्ष प्रेमकृष्ण प्रसाई, शिवसताक्षी नगर अध्यक्ष विष्णु प्रसाई, गौरादह नगर अध्यक्ष नरबहादुर प्रसाई, केन्द्रीय उपाध्यक्ष गोपीकृष्ण प्रसाई लगायत    बिर्तामोड नगर एकाई भित्रका २ सय बढी प्रसाई परिवारबाट सहभागिता रहेको थियो ।  


कार्यक्रमको सञ्चालन बिर्तामोड नगर एकाइका सचिव दिपेश प्रसाईले गर्नुभएको थियो।