झापा । भरत प्रसाई ,
झापाको बिर्तामोड–५ स्थित मङ्गलदीप टोल अगाडिको खुला प्राङ्गणमा यही कार्तिक ११ गते ‘इको म्युजिक फेस’ आयोजना हुने भएको छ।
लागू पदार्थको दुर्व्यसनमा फसेका युवालाई सुधार केन्द्रमा पुनर्स्थापित गर्ने उद्देश्यले *‘चाहना समूह बिर्तामोड’*ले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो।
बिर्तामोडस्थित लोटस लङ्ग एण्ड बारमा आयोजित पत्रकार सम्मेलनमार्फत सो कार्यक्रमको जानकारी दिइएको हो। चाहना समूह बिर्तामोडका उपाध्यक्ष तथा कार्यक्रम संयोजक जीवन भण्डारीले युवालाई नकारात्मक बाटोबाट सकारात्मक जीवनतर्फ डोर्याउने उद्देश्यले यो फेसको आयोजना गरिएको बताए ।
कार्यक्रम ‘इभी इन’सँग सहकार्यमा सञ्चालन गर्न लागिएको हो। सो अवसरमा साझेदार ग्रुपका संस्थापक विशाल अग्रवालले बिर्तामोडमै पहिलोपटक यस किसिमको भव्य र उत्कृष्ट कार्यक्रम हुन लागेको उल्लेख गर्दै समाजमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई कार्यक्रममा सम्मान गरिने जानकारी दिए।
पत्रकार सम्मेलनमा चाहना समूहका अध्यक्ष रोहित गुरुङ, संयोजक भण्डारी, संस्थापक सदस्य मदन राई र साझेदार ग्रुपका संस्थापक अग्रवालले मलेसियास्थित R.T.F.C. बाट डोनेट गरिएको स्वयंसेवक जर्सी संयुक्त रूपमा सार्वजनिक गरेका थिए।
अध्यक्ष गुरुङका अनुसार कन्सर्टमा पाँच हजारभन्दा बढी दर्शक–श्रोता उपस्थित हुने अनुमान गरिएको छ। त्यस्तै, इभीन्ट ग्रुपका संस्थापक अग्रवालले कार्यक्रम सम्पन्न हुन ३० लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान रहेको बताए।
सुरक्षाका लागि दुई तहको सुरक्षा संयन्त्र र आन्तरिक स्वयंसेवकको व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए।
कार्यक्रममा *‘सवर व्याण्ड’ र ‘पूर्ण राई दाजुभाइ व्याण्ड’*ले आकर्षक सांगीतिक प्रस्तुति दिने भएका छन्। टिकट पार्टनरको रूपमा ई–सेवा रहेको र हालसम्म २ हजार टिकट बिक्री भइसकेकाे इभीन्ट ग्रुपका संस्थापक अग्रवालले बताए । साधारण टिकट मूल्य एक हजार रुपैयाँ तोकिएको छ।
कार्यक्रम कार्तिक ११ गते साँझ ४ बजेदेखि सुरु हुनेछ। आयोजकले यस फेसमार्फत संगीतको माध्यमबाट युवामा सकारात्मक ऊर्जा जगाउने तथा समाजलाई लागू पदार्थमुक्त बनाउन सन्देश प्रवाह गर्ने अपेक्षा राखेका छन्।














