बिर्तामोड , भरत भाबुक प्रसाई 

झापाको कनकाई नगरपालिकास्थित घैलाडुब्बामा अन्तर वडा स्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ।

कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा तथा कनकाई वडा नं. ८ खेलकुद उपसमितिको सह–आयोजनामा आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता हुने समिति अध्यक्ष जीवन ओलीले जानकारी दिनुभयो।


अध्यक्ष ओलीका अनुसार आफूले कनकाई नगर खेलकुद विकास समितिको जिम्मेवारी सम्हालेपछि पहिलोपटक घैलाडुब्बामा अन्तर वडा स्तरीय टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो।

पछिल्लो समयमा युवाहरु लागूपदार्थ दुर्व्यसनमा फसिरहेको अवस्थालाई मध्यनजर गर्दै उनीहरूलाई खेलमार्फत सचेतना र प्रेरणा दिन प्रतियोगिताको आयोजना गरिएको उहाँले बताउनुभयो।


आगामी कार्तिक ७ गतेदेखि १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कनकाई नगरपालिकाका नौ वटै वडा र आयोजक तर्फबाट ‘बी टिम’ गरी कुल १० टिमको सहभागिता रहनेछ।

फाइनलसम्म कुल नौवटा खेल खेलाइने र हरेक दिन दुईवटा खेल हुने सहजकर्ता तथा क्रिकेट खेलाडी नवराज भेटवालले जानकारी दिनुभयो।

IMG_7965


प्रतियोगिताका विजेतालाई ५० हजार रुपैयाँ, उपविजेतालाई ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। कनकाई नगर खेलकुद विकास समितिका सदस्य प्रत्युस निरौलाका अनुसार प्रतियोगिताको उद्देश्य नगरभित्रका युवामा खेलप्रतिको रुचि बढाउने, प्रतिभाशाली खेलाडीको पहिचान र प्रोत्साहन गर्ने तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नु हो।


स्थानीय क्रिकेट खेलप्रेमी तथा सामाजिक व्यक्तित्व भेटवालले लामो समयपछि कनकाई नगर खेलकुद विकास समितिको नयाँ नेतृत्वको पहलमा टी–२० नकआउट प्रतियोगिता हुन लागेको बताए।

उनले प्रतियोगिताले युवामा खेलप्रतिको आकर्षण बढाउने र नगरस्तरमा खेलकुदको विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।


त्यस्तै, संयोजक जीवन ओलीले आउँदा दिनमा कनकाई नगरपालिकाका विभिन्न वडामा फुटबल, भलिबललगायतका लोकप्रिय खेलहरू सञ्चालन गर्दै कनकाई नगरलाई खेलकुदको केन्द्रका रूपमा विकास गर्ने योजना रहेको बताए।


कार्यक्रमको सहजीकरण कृष्णवाबु शर्माले गर्नुभएको थियो।