बिर्तामोड । भरत प्रसाई ,

विगत लामो समयदेखि यातायातको क्षेत्रमा विश्वसनीय नाम बनेको वन प्लस यातायात प्रालीले यात्रुहरूको चाहनालाई मध्यनजर गर्दै काँकडभिट्टा–काठमाडौँ रुटमा सञ्चालन गर्ने दुईवटा अत्याधुनिक सुविधा सम्पन्न बस आज एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरेको छ।

केन्द्रीय कार्यालय काठमाडौँमा र शाखा कार्यालय झापाको बिर्तामोडमा रहेको वन प्लस यातायातले यात्रुहरूको अपेक्षा भन्दा छोटो समयमा नै उल्लेखनीय सफलता हासिल गर्दै नेपालका विभिन्न जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ।

कार्यक्रममा कम्पनीका सञ्चालक विनोद कोइरालाले यात्रुहरूको सुविधाका लागि शौचालयसहितको बस बजारमा  तयारी भईरहेको बताउनु भयो । 

2

 उहाँका अनुसार झापाको कन्काई नदीमा पूजा अर्चना गरी कर्मचारीहरूलाई टीका लगाई आजबाट वन प्लस यातायातले आफ्ना दुईवटा नयाँ बस सञ्चालनमा ल्याएको हो।

कोइरालाले विगत चार वर्षदेखि यात्रु सेवामा निरन्तरता दिँदै आएको बताउँदै यात्रुहरूको माग र आवश्यकताअनुसार हरेक वर्ष नयाँ परिमार्जनका साथ बस थप्दै आएको जानकारी दिनुभयो।

उहाँले यात्रुहरूको चाहनालाई परिपूर्ति गर्न विगतमा पनि विभिन्न सुविधा सम्पन्न गाडी बजारमा ल्याइएको उल्लेख गर्दै हालै कम्पनीले भिआइपी सोफा सेट तथा स्लिपर एयर बस सञ्चालनमा ल्याएको बताउनुभयो।


उहाँका अनुसार प्रत्येक गाडीमा भिआइपी सिट भए तापनि वन प्लस यातायातको सुविधा अन्यभन्दा फरक रहेको छ। लामो दूरीका यात्रुहरूका लागि कपल बेडको व्यवस्था गरिएको छ भने प्रत्येक सोफा सेटमा ब्ल्याङ्केट उपलब्ध गराइएको छ।


यात्रुहरूको सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान गरिएको छ। साथै, यात्राको सहजता र आधुनिकताका लागि चार्जर, वाइफाइ सुविधा र यात्रुहरूको समस्या समाधानका लागि भोलेन्टियरको व्यवस्था पनि गरिएको छ।

उहाँले यात्रुहरूको सन्तुष्टिलाई प्राथमिकता दिँदै वन प्लसका सम्पूर्ण बसहरू यात्रुमैत्री व्यवहारलाई केन्द्रमा राखेर सञ्चालन भइरहेको बताउनुभयो।

यात्रुहरूको सामान सुरक्षाका लागि डिकीमा समेत सिसिटिभी क्यामेरा जडान गरिएको जानकारी दिँदै कोइरालाले निकट भविष्यमै विराटनगरदेखि काँकडभिट्टा रुटमा शौचालयसहितको बस सेवा सार्वजनिक गरिने योजना रहेको बताउनुभयो।


यात्रुहरूको जिज्ञासाको रूपमा उठ्ने खानाको विषयमा उहाँले वन प्लस यातायातले यात्रुहरूलाई स्वच्छ र सुविधा सम्पन्न होटलहरूमा खाना खुवाइने व्यवस्था मिलाएको बताउनुभयो। यस कारण यात्रुहरू ढुक्क भएर आफ्नो गन्तव्य रोज्न वन प्लसका बसहरूलाई प्राथमिकता दिन आग्रह गर्नुभयो।

उहाँले अहिले बजारमा ल्याइएका गाडीहरूमा पहिलेका गाडीको तुलनामा स्लिपर सिट अझ ठूलो र फराकिलो बनाइएको पनि जानकारी दिनुभयो।


त्यस्तै, वन प्लस यातायातका सञ्चालक विनोद कोइरालाले प्रालीको तर्फबाट “स्वच्छ समाजका लागि सामाजिक अभियान” का संयोजक गणेश ढुङ्गानालाई १५० जना दृष्टिविहीन र १३ जना अनाथ बच्चाहरूका लागि निर्माण गर्न लागिएको भवनका निम्ति ५० बोरा सिमेन्ट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

साथै, दीपावलीको अवसरमा अनाथ बालबालिकालाई केही दिन खाना खुवाउन खाद्य सामग्री खरिदका लागि रकम हस्तान्तरण समेत गर्नुभएको थियो।


विगत चार वर्षदेखि सञ्चालनमा रहेको वन प्लस यातायात प्रणालीले यात्रुहरूको आवश्यकतालाई मध्यनजर गर्दै आफ्ना बसहरूलाई निरन्तर परिमार्जन र आधुनिकता थप्दै आएको छ। हालसम्म झापाका विभिन्न सहरहरू, विराटनगर, धरान, पोखरा लगायतका स्थानहरूबाट वन प्लसका बसहरू सञ्चालनमा रहेका छन्।


करीब एक करोड रुपैयाँ लगानीमा निर्माण भएका यी अत्याधिक सुविधा सम्पन्न बसहरू मार्फत यात्रुहरूले आफ्नो यात्रालाई अझ सुखद र सुरक्षीत बनाउन सक्ने विश्वास सञ्चालक कोइरालाले व्यक्त गर्नुभयो।