बिर्तामोड । नेपाल संवत् ११४६ लाई स्वागत गर्दै नेवा : देय दबू बिर्तामोड नगर समितिले न्हू दॅया भिन्तुना अर्थात नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

नेवा : देय दबू बिर्तामोड नगर समिति अध्यक्ष टेकबहादुर श्रेष्ठको अध्यक्षता र बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश, जिल्ला र नगरस्तरका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका वरिष्ठ उपाध्यक्ष जङ्गबहादुर श्रेष्ठले स्वागत मन्तव्य दिँदै नेपाल संवत् केवल एक समुदायको पर्व नभई समग्र नेपाली पहिचान र सभ्यताको प्रतीक भएको बताए।

उनले नेपाल संवत्को विस्तार र संरक्षणमा सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

IMG_8095कार्यक्रममा कोशी प्रदेशका निवर्तमान अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठ, प्रदेश उपाध्यक्ष ओमप्रकाश श्रेष्ठ, आदिवासी जनजाति महासंघ बिर्तामोडका अध्यक्ष दीपेन्द्र चौधरीलगायत वक्ताहरूले नेपाल संवत् ११४६ लाई कानूनी मान्यता प्रदान गरी व्यवहारमा लागू गर्न सरकारसँग माग गरे।


वक्ताहरूले नेपाल संवत् शंखधर साख्वलेको उदारता, समानता र समृद्धिको चिन्ह भएको उल्लेख गर्दै नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचान र संस्कृतिबारे सचेत बनाउने आवश्यकता औंल्याए।


नेवा : देय दबू बिर्तामोड नगर समितिको मुख्य आयोजनामा तथा नगरका सबै वडासमितिहरूको सहआयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो।

IMG_8096कार्यक्रमपछिको सांस्कृतिक र्‍यालीमा परम्परागत पोशाकमा सुसज्जित सहभागीहरू धिमे बाजा, ढोल, नाचगान र झाँकी प्रदर्शन गर्दै बिर्तामोड नगर परिक्रमा गरेका थिए। नेवा : मिशा दबूकी झापा अध्यक्ष तीलरूपा श्रेष्ठका अनुसार, र्‍यालीले नेवार समुदायको एकता र सांस्कृतिक गौरवलाई झल्काएको थियो।


कार्यक्रमको सञ्चालन नेवा : देय दबू बिर्तामोड नगर समितिका सचिव दिलिप प्रधानले गरेका थिए।