✍️ भरत प्रसाईँ
नेपालको हिमाली सुन्दरता, रहस्य र श्रद्धाले भरिएको एक अनुपम स्थल — पाँचपोखरी। बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लाको उत्तरी भागमा अवस्थित यो स्थान केवल प्राकृतिक आकर्षणको केन्द्र मात्र होइन, आध्यात्मिक अनुभूति र धार्मिक सहिष्णुताको प्रतीक पनि हो।
हिमाली थाङपाल गाउँपालिकामा पर्ने पाँचपोखरी समुद्री सतहबाट करिब ४१०० मिटर उचाइमा अवस्थित छ। यहाँबाट गाञ्च्याङपो, दोर्जे लाक्पा लगायतका हिमशृङ्खलाहरू नजिकै देखिन्छन्। हिमालको काखमा, चिसो हावाको स्पर्श र बादलको लहरसँगै यो यात्रा रोमाञ्चक अनुभव बन्छ।
विश्वका शीर्ष १०० पर्यटन गन्तव्यमध्ये पाँचपोखरी २०२० मा १६औं स्थानमा पर्न सफल भएको थियो। साथै, यसलाई विश्वको नवौं सिमसार क्षेत्रको रूपमा पनि मान्यता प्राप्त छ।
यहाँका पाँचवटा पोखरीहरू — स्वच्छ, पवित्र र अलौकिक आकर्षणले भरिएका छन्। हरेक पोखरीको सतहमा प्रतिविम्बित हिमशृङ्खलाले यस्तो दृश्य दिन्छ, जसले जो कोहीको मन लोभ्याउँछ।

किम्बदन्तीअनुसार, एक प्रसिद्ध सिकारी गुम्बा रुम्बा वाइवा सिकार खेल्दै यो ठाउँमा पुगेका थिए। त्यहाँ उनले मानिसहरूलाई धान रोप्दै गरेको देखे, तर नजिक पुग्दा ती मानिसहरू अदृश्य भए।
भनिन्छ— ती व्यक्ति भगवान शिव नै थिए। त्यसपछि सिकारीले त्यहीँ गुम्बा (मन्दिर) स्थापना गरे, जुन आज पनि श्रद्धा र विश्वासको प्रतीक बनेको छ।
स्थानीयहरूका अनुसार अहिले पनि पाँचपोखरी वरिपरि धानको बाला भेटिने जनविश्वास रहँदै आएको छ।
पूर्वमा जुगल गाउँपालिका, पश्चिममा हेलम्बु, उत्तरमा रसुवासँग जोडिएको लाङटाङ राष्ट्रिय निकुञ्ज र दक्षिणमा इन्द्रावती तथा मेलम्ची नगरपालिकाले पाँचपोखरी थाङपाल गाउँपालिकालाई घेरेका छन्।
आठवटा गाउँ विकास समितिहरूलाई एकीकृत गरेर घोषणा गरिएको यो गाउँपालिका अहिले नमुना गाउँपालिकाको रूपमा परिचित छ।
नेपालमा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन वर्ष २०२५ मनाइँदैछ। पाँचपोखरी जस्तो विश्वस्तरको प्राकृतिक र धार्मिक स्थलको प्रचार–प्रसारमा स्थानीय सरकार, समुदाय र नेपाल सरकारको संयुक्त प्रयासले ठूलो योगदान पुर्याउन सक्छ।
अलौकिक पोखरी, हिमशृङ्खलाको झिल्को, प्राचीन आस्था र आधुनिक पर्यटनको संगम — पाँचपोखरी नेपालकै होइन, विश्वकै गर्व हो।














