बिर्तामोड, झापा ।

झापाको बिर्तामोड–३ मा अवस्थित लिङ्कन मन्टेश्वरी स्कुलले शिक्षकहरूको पेशागत दक्षता र शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यसहित एक दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ।

विद्यालयले आयोजन गरेको उक्त तालिममा शिक्षण पद्धतिको आधुनिकीकरण, विद्यार्थीको मनोविज्ञानको समझ, र प्रभावकारी विद्यालय व्यवस्थापनका विषयमा विस्तृत रूपमा प्रशिक्षण प्रदान गरिएको थियो।

तालिमको सहजीकरण  प्रशिक्षक  पूजा दाहाल खरेलले गरेकी थिइन्। उनले शिक्षकले आफ्नै कार्यशैलीमा आत्ममूल्यांकन गर्दै नवीनतम शिक्षण विधिहरू अवलम्बन गर्नुपर्नेमा जोड दिइन्।

 “शिक्षकले केवल पढाउने मात्र होइन, विद्यार्थीको सोच, रुचि र सिकाइको ढाँचालाई बुझेर सिकाइमै सृृृजनशीलता भर्न सक्नुपर्ने प्रशिक्षक  दाहाले बताउनुभयो ।

लिङ्कन मन्टेश्वरीले यसअघि पनि समय–समयमा यस्ता तालिमहरू सञ्चालन गर्दै आएको छ, जसले शिक्षकहरूको पेशागत आत्मविश्वास र दक्षता दुवै बढाउने गरेको विद्यालयले जनाएको छ।

विद्यालयका सञ्चालक  सरोज पौडेलले समय अनुरुप शिक्षकहरु अपडेट हुनुपर्ने आवश्यकता अनुरुप  शिक्षकहरुलाई तालिमको आयोजना  गरिएको बताउनुभयो ।

विद्यालयका अनुसार, विद्यार्थीहरूमा सिकाइप्रतिको उत्साह बढ्दै गएको छ भने अभिभावकहरू पनि विद्यालयले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षाबाट सन्तुष्ट छन्।

बालमैत्री वातावरण, अनुशासित व्यवस्थापन र अनुभवी शिक्षकहरूको संयोजनका कारण लिङ्कन मन्टेश्वरी बिर्तामोडकै नमुना विद्यालयका रूपमा स्थापित भएको छ।

विद्यालय प्रशासनले आगामी दिनमा पनि निरन्तर रूपमा शिक्षक र अभिभावक दुवैलाई लक्षित यस्ता अभिवृद्धिमूलक कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।