काठमाडौँ । लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ अमेरिकाको ‘इजिप्टियन अमेरिकी फिल्म फेस्टिभल’मा छनोट भएको छ ।

अमेरिकाको न्युर्याेकमा ३१ अक्टोबरदेखि २ नोभेम्बरसम्म आयोजना हुने फेस्टिवलमा विश्वका थुप्रै देशका फिल्म पनि सहभागी छन् । 

आफ्नो फिल्म छनोमा पर्दा निकै खुसी लागेको निर्देशक सुवेदीले बताए । ‘ फेस्टिवलमा छनोट हुनु मिहिनेत सार्थक हुनु हो,’ उनले भने, ‘यो मेरो मात्र होइन, नेपालकै उपलब्धि हो ।

’ फिल्मले ‘दक्षिण एसियाली चलचित्र महोत्सव २०८०’मा पनि नगदसहित पुरस्कार जितेको थियो, जहाँ निर्देशक सुवेदीले अवार्डसमेत प्राप्त गरेका थिए । 

‘सतीदेवी’ नारीप्रधान फिल्म हो । फिल्मको केन्द्रीय भूमिकामा अभिनेत्री मल्लिका महत छिन् ।

फिल्ममा महतको अलवा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी लगायतको अभिनय छ । 

दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्ममा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद छ ।

फिल्मको गीत पनि सुवेदी आफैले लेखेका हुन् । फिल्म नेपालमा गत वर्ष भदौमा प्रदर्शनमा आएको थियो ।