बिर्तामोड । भरत प्रसाईं
झापाको बिर्तामोड–४ मा रहेको शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा पछिल्लो समय देखिएको आर्थिक संकट गहिरिँदै गएको छ।
विगत लामो समयदेखि आफ्नै बचत रकम फिर्ता नपाएपछि संस्थाका बचतकर्ताहरू आक्रोशित भएका छन्।
संस्थामाथि करोडौं रुपैयाँ बचतकर्ताको रकम फिर्ता नगरेको आरोप लगाउँदै उनीहरूले तत्काल समस्याको समाधान गर्न माग गरेका छन्।
संस्थाका सचिव हिमाल प्रसाईंको पहलमा बिहिबार बिर्तामोडमा खुला संवाद तथा छलफल कार्यक्रम आयोजना गरिएको थियो।
“समस्या समाधानका लागि संवाद र सहकार्य नै विकल्प हो,” सचिव प्रसाईंले कार्यक्रममा भन्नुभयो। तर, कार्यक्रममा संस्थाका अध्यक्ष र अन्य प्रमुख पदाधिकारी अनुपस्थित भएपछि उपस्थित बचतकर्ताहरू झन् आक्रोशित बनेका थिए।

कार्यक्रममा सहभागी सदस्यहरूले वर्षौंअगाडिदेखि जम्मा गरेको रकम फिर्ता नपाउँदा सामाजिक, पारिवारिक र आर्थिक दबाब झेल्नुपरेको गुनासो गरेका थिए।
उनीहरूले सहकारीका सञ्चालक समिति र ठूला ऋणीहरूकै कारण सहकारी डुबेको आरोप लगाउँदै तत्काल ठोस निर्णय गर्न अल्टिमेटम दिएका छन्।
सचिव प्रसाईंले कार्यक्रममा स्पष्ट पार्दै आफू पनि संस्थाको ऋणी रहेको बताउनुभयो।
“मैले पनि संस्थाबाट ऋण लिएको छु, तर अहिले म पनि धरौटी राखेको सम्पत्ति निलाम गरेर अरू सदस्यको पैसा फिर्ता गर्न प्रस्ताव गर्दै आएको छु,” उहाँले भन्नुभयो।
प्रसाईंले थप भन्नुभयो, “केही व्यक्तिहरूका कारण सम्पूर्ण सहकारी कलङ्कित बनेको छ। तर म संवाद, पारदर्शिता र कानुनी बाटोबाट समाधानका लागि सधैं तयार छु।”
उहाँले सबै पीडित सदस्यहरूलाई आफ्नो रकम फिर्ता दिलाउन कानुनी प्रक्रिया अघि बढाउने प्रतिवद्धता पनि जनाउनुभयो।
कार्यक्रममा ऋण रिकभर समिति संयोजक उमेश राउतले संस्थाको वर्तमान अवस्था र सम्भावित समाधानका उपायबारे जानकारी गराउँदै सहकारीलाई पुनःस्थापना गर्न सबैको सहकार्य आवश्यक रहेको बताए।

संवाद कार्यक्रममा सहभागी बचतकर्ताहरूले भने संस्थाका ठूला ऋणी र सञ्चालक समितिका पदाधिकारीहरूलाई कानुनी कारबाही गर्न माग गरेका छन्।
उनीहरूले भोलिसम्ममा ठोस निर्णय नआए सङ्घर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन्।
शिखर सहकारीमा बचतकर्ताहरूको करोडौं रुपैयाँ अड्किएको बताइन्छ। लामो समयदेखि फिर्ता प्रक्रिया ठप्प हुँदा बचतकर्ताहरूले न्याय र पारदर्शिताको माग गर्दै सडकदेखि कानुनी लडाइँसम्मको तयारी गरिरहेका छन्।














