झापा, २४ कात्तिक । भरत प्रसाई ,
झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न एलभिडी झापा महिला गोल्डकप–२०८२ को उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ। सोमबार सम्पन्न फाइनल खेलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल क्लबलाई १–० ले पराजित गर्दै उपाधि उचालेको हो।
खेलको सुरुवातमै दुवै टोली आक्रमक लयमा मैदानमा उत्रिएका थिए। तेस्रो मिनेटमै पुलिसकी पूजा रानाले पेनाल्टी बक्स बाहिरबाट दिएको क्रसमा मिना देउवाले प्रहार गरेकी थिइन्, तर एपिएफकी गोलकिपर अञ्जना राना मगरले बचाइन्।
पाँचौँ मिनेटमा एपिएफले पनि गोलको अवसर पाएको थियो, तर कप्तान अनिता बस्नेतको क्रसमा निशा थोकरको प्रहार पोस्टमाथि उड्यो।
खेलको २२ औँ मिनेटमा भने पुलिसले अग्रता लिन सफल रह्यो। रेखा पौडेलको सट डिफेन्डरमा लागेर फर्किएको बल पेनाल्टी एरियामा अनमार्क रहेकी मिना देउवाको सामु पुग्दा उनले गोलकिपरलाई कुनै मौका नदिई बल जालीभित्र पठाइन्।
यही गोल नै खेलको एक मात्र निर्णायक गोल बन्यो। त्यसपछि एपिएफले बराबरीको अवसर पाउने प्रयास गरे पनि सफलता हात लागेन। कप्तान अनिता बस्नेतको सट पोस्ट बाहिरियो भने दोस्रो हाफमा रेनुका नगरकोटी र रश्मि घिसिङका प्रहारहरू पनि पुलिसकी गोलकिपर उषा नाथले उत्कृष्ट बचाउ गर्दै रोकिन्।
दोस्रो हाफमा खेल अझ प्रतिस्पर्धात्मक बनेको थियो। एपिएफकी डिफेन्डर मनमाया दमाईले रेखा पौडेललाई रोक्ने क्रममा फाउल गरेपछि पहेँलो कार्ड पाएकी थिइन्, तर त्यसबाट पुलिसले पाएको फ्रिकिक गोलमा परिणत हुन सकेन।
अन्तिम मिनेटसम्म एपिएफले बराबरीको प्रयास जारी राखे पनि पुलिसको सुदृढ रक्षा र गोलकिपर नाथको कुशल प्रदर्शनका कारण उनीहरू सफल हुन सकेनन्।
१–० को जितसहित नेपाल पुलिस क्लबले उपाधि जित्न सफल भयो। विजेताले नगद १० लाख १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्यो भने उपविजेता एपिएफले ५ लाख रुपैयाँमा सीमित रह्यो।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी मिना देउवाले सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको दुवै उपाधि जितिन्। उनले प्रतियोगिता अवधिभर सात गोल गर्दै १ लाख ७५ हजार रुपैयाँसहित दुई उपाधि हात पारिन्।
फाइनलको प्लेयर अफ द म्याच पुलिसकी पूजा राना घोषित भइन्। अन्य उत्कृष्ट प्रदर्शनकर्तामध्ये गोलकिपर उषा नाथ, प्रशिक्षक भोला सिलवाल र कप्तान अमृता जैशीको नेतृत्वमा टोलीले बलियो र संयमित खेल प्रस्तुत गर्दै एपिएफलाई दबाबमा राख्न सफल भएको थियो।
विजेता तथा उपविजेतालाई गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा, शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्रा, झापा गोल्डकप अध्यक्ष केदार गिरी र अन्तर्राष्ट्रिय झापाली समाजकी उपाध्यक्ष सीता पाण्डेलगायतले पुरस्कार वितरण गरे।
नेपाल पुलिस क्लबको यो जित महिला फुटबलमा ऐतिहासिक सफलताका रूपमा सम्झिनेछ, जहाँ मिना देउवाको निर्णायक गोलले टोलीलाई स्वर्णिम उपाधि दिलायो।














