झापा । अर्जुनधारा नगरपालिका–७ स्थित ऐतिहासिक तथा धार्मिक स्थल अर्जुनधारा जलेश्वर धाममा ४३औँ वार्षिक वायु ज्ञानमायज्ञ आजदेखि सुरु भएको छ।
कार्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म सञ्चालन हुने सप्ताह ज्ञान महायज्ञ बाला चतुर्दशीको मेलासँगै समापन हुने छ।
अर्जुनधारा जलेश्वरधाम सञ्चालन समितिका अध्यक्ष नवीन गट्टानीको अध्यक्षता तथा १००८ स्वामी केशवानन्द गिरीजी महाराज केएन स्वामीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष अम्बिका प्रसाद खतिवडाले स्वागतसहित औचित्यमाथी प्रकाश पारेका थिए।
श्री १०८ केशवानन्द स्वामी जी महाराजकोले नेपालीहरूमा संस्कार हराउँदै गएको उल्लेख गर्दै धर्म र संस्कृतिको संरक्षणका लागि सन्तानहरूलाई संस्कार सिकाउनुपर्ने बताउनुभयो।
अर्जुनधारा संस्कृत गुरूकूलका विद्यार्थी खेमप्रसाद लामिछानेले संस्कृत भाषाबाट स्वागत मन्तव्य व्यक्त गरेका थिए।
धामका अध्यक्ष नवीन गट्टानीका अनुसार आज बिहान ११ बजे कलश यात्रा निकालिएको थियो, जसमा १५०० भन्दा बढी भक्तजनहरूको सहभागिता रहेको थियो। कलश यात्रामा विभिन्न सङ्घसंस्था, सामाजिक व्यक्तित्व, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका सदस्य तथा विद्वान्–विदुषीहरूको सहभागिता रहेको थियो।
अध्यक्ष गट्टानीले बाला चतुर्दशीको अवसर पारेर हरेक वर्ष धार्मिक अनुष्ठान आयोजना गर्दै आएको जानकारी दिँदै यस वर्षको अनुष्ठानमा सबै भक्तजनको सहयोग र सहभागिता अपेक्षा गर्नुभयो।
उहाँका अनुसार नेपालसहित भारत, बङ्गलादेश र भुटानका भक्तजनहरू पनि यस मेलामा सहभागी हुने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गामदेनले यस्ता धार्मिक कार्यक्रमहरूले समाजलाई सुसंस्कृत, सभ्य र अनुशासित बनाउन योगदान पुर्याउने बताउनुभयो।
कार्यक्रमको औचित्यमाथि अर्जुनधारा जलेश्वर धामका मूल अर्जक पण्डित अग्निप्रसाद सिग्देलले प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गर्नुभएको थियो।
धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको अर्जुनधारा जलेश्वर धाममा यस वर्षको वायु ज्ञानमायज्ञलाई भव्य र शान्तिपूर्ण बनाउन सम्पूर्ण तयारी पूरा गरिएको आयोजक समितिले जनाएको छ।














