झापा– मेचीनगरस्थित काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोडमा अवस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पताललाई विशेष सम्मान प्रदान गरेको छ।

सहकारी संस्थाले विभिन्न समयमा आयोजना गर्ने निःशुल्क स्वास्थ्य शिविरहरूमा आफ्ना सदस्यहरूलाई निरन्तर सेवा उपलब्ध गराइरहेको कृतज्ञतास्वरूप अस्पताललाई सम्मान गरिएको हो।


संस्थाको १५औं वार्षिक साधारण सभाको अवसर पारेर आयोजित सम्मान कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले सम्मानपत्र प्रदान गरे।

अस्पतालका तर्फबाट प्रेस संयोजक उमाकान्त खनालले सम्मान ग्रहण गरेका थिए।


सोही कार्यक्रममा सहकारी संस्थाले उत्कृष्ट कारोबार गर्ने महिलातर्फ मिना थापा, पुरुषतर्फ आशिष ढुंगेल तथा नियमित बचतकर्ता स्वर्ण राईलाई जनही ११०० रुपैयाँसहित सम्मानपत्र प्रदान गर्यो।

प्रमुख अतिथि सापकोटा र अध्यक्ष भुपाल शिवाकोटीले विजेताहरूलाई नगद तथा सम्मानपत्र हस्तान्तरण गरेका थिए।

यसै आर्थिक वर्षदेखि संस्थाले संस्थामा निरन्तर योगदान दिने कर्मचारीहरूलाई कामको मूल्याङ्कनका आधारमा ‘उत्कृष्ट कर्मचारी’ घोषणा गर्ने नीति अवलम्बन गरेको छ।

उक्त योजनाअनुसार बजार प्रतिनिधि जिना थापालाई नगद ५ हजार १०० रुपैयाँ र सम्मानपत्रसहित उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको छ।