झापा, २७ कात्तिक । झापाको कमल गाउँपालिका–५ पाडाजुङ्गीमा भृकुटी हस्पिटल सञ्चालनमा आउने भएको छ ।
‘सरकारी दरमै निजीमा सुविधा’ भन्ने नाराका साथ मंसीर अन्तिम सातादेखि हस्पिटल सञ्चालन गर्न लागिएको सञ्चालक प्रताप कार्कीले जानकारी दिनुभयो । यहाँस्थित आदिवासी रङ्गशाला दक्षिण राजमार्गसँग जोडिएको तीन बिघा जग्गामा युवा व्यवसायी कार्कीसहित बुद्धिमान थापा र नसिम कार्कीको संयुक्त लगानीमा हस्पिटल सञ्चालन हुन लागेको हो ।
“अहिले स्वास्थ्य सेवा निकै महँगो भइरहेको छ, सुलभ दरमा सेवा दिने हाम्रो उद्देश्य छ”, उहाँले भन्नुभयो, “पाँच सय शैय्याको अस्पतालको भौतिक संरचना निर्माण भइसकेको छ, प्रारम्भिक चरणमा एक सय शैय्याबाट सेवा शुरु हुनेछ ।”
चार वर्षअघिबाट अस्पतालको भौतिक संरचना निर्माण कार्य शुरु भए पनि कोभिड–१९ का कारण निर्धारित समयमा निर्माण कार्य नसकिएले उहाँले बताउनुभयो ।
पछिल्लो समय झापा अस्पतालको हब बन्दै गए पनि जिल्लाको मध्य भागमा ठूलो अस्पताल नभएको अर्का सञ्चालक बुद्धिमान थापाले बताउनुभयो । “झापाको यो मध्यभागमा सुविधा सम्पन्न अस्पतालको आवश्यकता खड्किएपछि हामी यो अभियानमा जुटेका हौँ”, उहाँले भन्नुभयो, “यो अस्पतालबाट झापासँगै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, मोरङ लगायत जिल्लाका नागरिक लाभान्वित हुने विश्वास छ ।”
रवि–चिसापानी सडक खण्ड पूर्णरुपमा सञ्चालनमा आएपछि पहाडी जिल्लाका नागरिकलाई दूरीका हिसाबले बिर्तामोडभन्दा पाडाजुङ्गी सहज र सरल हुने थापा बताउनुहुन्छ ।














