अर्जुनधारा । झापाको अर्जुनधारामा पहिलो पटक महिला खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजना तथा अर्जुनधारा–६ स्थित लक्ष्मी माध्यमिक विद्यालयको सहआयोजनामा प्रतियोगिता मंसिर १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ। पत्रकार सम्मेलनमार्फत आयोजक समितिले नेपालभरिका उत्कृष्ट छवटा टिम प्रतियोगितामा सहभागी हुने जानकारी दिएको छ। प्रतियोगिता लक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ।
प्रतियोगितामा कोशी प्रदेशको एक टिम, नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी, न्यू डायमण्ड र एभरेस्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन्।
लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने खेलहरू बेस्ट अफ फाइभ सेटमा खेलाइने छन्। प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउने छ भने उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन्।
तेस्रो स्थानमा रहने दुई टिमलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिनेछ। साथै बेस्ट प्लेयरलाई १५ हजार, पाँच विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार र प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ पुरस्कार दिइनेछ। प्रतियोगिता सम्पन्न गर्न करिब २७ लाख ६५ हजार रुपैयाँ खर्च हुने आयोजक समितिको अनुमान छ।

यसअघि भएको तयारी कार्यक्रममा अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षता तथा नगर प्रमुख वलदेवसिंह गोम्देनको प्रमुख आतिथ्य रहेको थियो।
प्रतियोगिताका परिकल्पनाकार वीरबहादुर राईले प्रतियोगिता निःशुल्क रूपमा हेर्न पाउने व्यवस्था गरिएको जानकारी दिए।

नगर प्रमुख गोम्देनले अर्जुनधारामा पहिलो पटक महिला खुल्ला भलिबल प्रतियोगिता आयोजना हुनु शहरकै गौरव भएको उल्लेख गर्दै नगरपालिकाले यसलाई पूर्ण रूपमा अपनत्व लिने बताएका थिए।
समितिका अध्यक्ष धिमालले प्रतियोगितामा उपस्थित भई खेलाडीहरूको हौसलाका लागि सबैलाई आग्रह गरे। कार्यक्रमको सञ्चालन पत्रकार तिलक योञ्जनले गरेका थिए।














