झापा — झापाका सामाजिक अभियन्ता शरद जोशीले Wine to Water, Round Table Nepal तथा Rotary Club of Kathmandu Height को सहकार्यमा झापा गाउँपालिकाका चार विद्यालयका २५० बाढी–प्रभावित विद्यार्थीलाई नानो–मेम्ब्रेन प्रविधियुक्त पानी फिल्टर वितरण गरेका छन्।

हालैको बाढीबाट प्रभावित विद्यार्थी तथा परिवारलाई लक्षित गरिएको यो कार्यक्रम जनविकास माध्यमिक विद्यालय, अमृत माध्यमिक विद्यालय, इन्द्रेणी प्राथमिक विद्यालय तथा मदरसा–ए–इस्लाम रसुङ्गञ्जमा सम्पन्न भएको हो।

bf22a109-aec9-43c3-943a-d77087cac7ad

कार्यक्रममा शरद जोशीले Wine to Water बाट प्राप्त फिल्टरको प्रयोग विधि तथा सरसफाइका तरिका विद्यार्थी र अभिभावकलाई सिकाएका थिए। उनका अनुसार उचित विधि प्रयोग गर्न सकेमा अमेरिकामा निर्मित यो फिल्टर १० वर्षसम्म टिकाउ हुने क्षमता राख्छ।


उक्त कार्यक्रममा Round Table Nepal का अध्यक्ष सुमित मित्तल, एरिया को–अर्डिनेटर पियूष लुनिया, बिर्तामोड राउन्ड टेबल–२७ का अध्यक्ष विकास अग्रवाल, साथै सामाजिक व्यक्तित्व शम्भु सुस्केरा, प्रकाश पाठक, सोम   बजगाईँ लगायतको उपस्थिति रहेको थियो।

92dd9bd5-f9ec-4340-8902-30d39516b711

कार्यक्रममा राष्ट्रिय अध्यक्ष सुमित मित्तलले भने,“बिकट भूगोलमा आएर पीडित समुदायलाई सहयोग गर्न पाएकामा हामी खुशी छौँ। आगामी दिनहरूमा पनि विकास र सेवामा निरन्तर समर्पित रहिरहनेछौँ।”


त्यसैगरी सहभागी विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाले बाढीपीडित विद्यार्थी तथा उनका परिवारलाई स्वच्छ पानी उपलब्ध गराउन यस सहयोगले ठूलो मद्दत पुग्ने बताएका छन्।

सामाजिक अभियन्ता जोशीका अनुसार हालसम्म इलामका ३५ परिवारलाई अस्थायी टहरा तथा झापा, सुनसरी र इलामका ६०० भन्दा बढी परिवारलाई सुरक्षित पानी फिल्टर वितरण गरिसकिएको छ। विशेषगरी दुर्गम तथा जोखिमयुक्त क्षेत्रमा सेवा पुर्‍याउँदै आएका उनी पछिल्ला १० वर्षदेखि निरन्तर सामाजिक कार्यमा सक्रिय रहेका छन्।