बिर्तामोड, ७ मंसीर । झापाको बिर्तामोड–२ चारपानेमा मूल कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औं वार्षिक साधारण सभामा आगामी पुस २१ गते हुने भएको छ ।

संस्थाको गत कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले २९ औं साधारणसभा अन्तरगत पुस १ गतेदेखि इकाइगत सभा शुरु गरी पुस २१ गते अन्तिम माइन्युट प्रमाणिकरण भेला गर्ने निर्णय गरेको छ ।

संघीय सहकारी ऐन–२०७४, प्रदेश सहकारी ऐन–२०७६, प्रदेश सहकारी नियमावली–२०७६ तथा संस्थाको विनियम–२०७८ सहित सहकारी रजिष्ट्रार कार्यालयले जारी गरेका निर्देशनअनुसार साधारण सभाका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जानकारी दिएको छ।

साधारण सभामा प्रस्तुत गरिने विभिन्न १८ वटा प्रस्तावमध्ये वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आगामी आ.व.को नीति तथा कार्यक्रम र बजेट, लेखा सुपरिवेक्षण तथा ऋण उप–समितिको प्रतिवेदन, शेयर लाभांश वितरण, संरक्षित कोष तथा बोनस, लेखा परीक्षक नियुक्ति, सेवा केन्द्रको डिजाइनिङ तथा निर्माण खर्च स्वीकृति, ऋण लगानी सम्बन्धी अख्तियारी, विनियम संशोधन लगायतका महत्वपूर्ण प्रस्ताव समावेश छन्।

यस्तै, संस्थाले आगामी वर्षका लागि नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनका लागि जिम्मेवारी तोक्ने, प्रतिनिधि छनोटमार्फत एकाइ तथा उप–एकाइगत माइन्युट प्रमाणिकरण गर्ने, बैंक खाता सञ्चालन तथा परिवर्तनका सम्बन्धमा अख्तियारी प्रदान गर्ने, नीति–निर्देशिका तथा कार्यविधि संशोधन गर्ने, तालिम केन्द्र तथा शैक्षिक भवन निर्माणका विषयमा निर्णय लिने तथा व्याज छुट जस्ता विविध विषयहरू पनि छलफलबाट पारित गरिने जनाएको छ।

एकाइ तथा उप–एकाइ विभाजन
साधारण सभा प्रयोजनका लागि संस्थाको कार्यक्षेत्रलाई ७ एकाइ र ८६ उप–एकाइमा विभाजन गरिएको छ। प्रत्येक उप–एकाइमा समान कार्यसूचीका आधारमा छलफल तथा निर्णय गरिनेछ।

प्रतिवेदन सार्वजनिक
साधारण सभाको प्रतिवेदन मिति २०८२/०८/०१ गते सार्वजनिक गरिनेछ र सोही दिनदेखि सबै सदस्यले सेवाकेन्द्रहरूबाट प्राप्त गर्न सक्नेछन्। प्रतिवेदन संस्थाको वेबसाइट र फेसबुक पेजमा पनि उपलब्ध गराइनेछ। सुझाव दिन चाहने सदस्यले मिति २०८२ पौष १६ गतेभित्र सेवाकेन्द्रमा लिखित रूपमा वा संस्थाको इमेलमार्फत सुझाव पठाउन सक्नेछन्।

सभामा सहभागिता
एकाइगत साधारण सभा बिहान ११ बजेबाट सुरू हुनेछ। उप–एकाइगत सभामा सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका सदस्यहरूको उपस्थिति रहनेछ।

प्रत्येक उप–एकाइबाट १७ जना प्रतिनिधि छनोट गरिने र अन्तिम माइन्युट प्रमाणित गर्न ३ जना प्रतिनिधि चयन गरिनेछ। अन्तिम रूपमा ३१ जना प्रतिनिधि विभिन्न जिल्लाबाट छनोट हुनेछन्।

सूचना प्रसारण
साधारण सभासम्बन्धी सूचना राष्ट्रियस्तरका पत्रपत्रिका, वेबसाइट, फेसबुक पेज तथा एसएमएसमार्फत प्रकाशित/प्रसारित गरिएको संस्थाले जनाएको छ।