बिर्तामोड । स्वर सम्राट नारायण गोपालको ३५औँ स्मृति दिवसका अवसरमा आगामी मंसिर १८ गते, बिहीबार, बिर्तामोडमा ‘साँझ र दिग्गज स्रष्टा सम्मान’ कार्यक्रम आयोजना हुने भएको छ।

उधौली पर्वको सन्दर्भमा मंसिर ६ गते बसेको संयुक्त बैठकले कार्यक्रम गर्ने निर्णय गरेको साहित्य चौतारी विर्तामोड–झापा परिवारले जानकारी दिएको छ।


कार्यक्रमका प्रमुख अतिथिका रूपमा बहुप्रसिद्ध गायक तथा संगीतकार चन्दन लम्जेल रहनेछन्।

त्यस्तै, गायक तथा संगीतकार डेजी बराइलीलाई विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरिएको छ।

आयोजकका अनुसार यस वर्ष स्व. हीरा देवी वाइबा र स्व। कुमार सुब्बाको स्मृतिमा ‘हीरा–कुमार सम्मान’ प्रदान गरिनेछ। सो सम्मानका लागि अग्रज सर्जक पवन गोले दम्पती चयन भएका छन्।


कार्यक्रममा संस्थापक तथा मानार्थ सल्लाहकार जीवन अधिकारीलाई विशिष्ट उपस्थितिको रूपमा सहभागी गराइनेछ।

यस्तै, न्म्ल्क्—गोर्खा दुःख निवारण सम्मेलन, दार्जिलिङ–भारत संस्थागत विशिष्ट अतिथि रहने आयोजकले जनाएको छ।


समारोहको मुख्य संयोजन साहित्य चौतारीका उपाध्यक्ष तथा नेपाल फिल्म सोसाइटी, कोशी प्रदेशसँग सम्बन्धित हिम्मत नेम्वाङले गर्नेछन्।

आयोजकले कार्यक्रममा विभिन्न चर्चित कलाकारहरूको प्रस्तुति पनि रहने जानकारी दिएको छ।


साहित्य चौतारीका अनुसार स्व. कुमार सुब्बाले वि.सं. २०६० असार ३१ गते संस्थाको चौथो वार्षिक उत्सवमा प्रमुख तथा विशिष्ट अतिथिको भूमिका निर्वाह गर्दै संस्थाको प्रगतिमा महत्वपूर्ण योगदान दिएका थिए।


साहित्य चौतारी विर्तामोड–झापा परिवारले स्थापना कालदेखि निरन्तर संस्थासँग आबद्ध सर्जक तथा सांस्कृतिक व्यक्तित्वप्रति सम्मान प्रकट गरेको छ।